सर्रे अम्बास ‘नोस्टाल्जिया !’

भदौ १३ गते सिराहाको सर्रे अम्बासमा मलाई देख्नासाथ धनकुटाका पाका कमरेड गोपाल गुरागाईँले सोध्नु भयो– त्यसबेला सबैभन्दा पछि आउने फुच्चे–फुच्चे महाधिवेशन प्रतिनिधि तपाईँ नै हो नि हैन ? जवाफमा म हाँसें मात्र । मेरो हाँसोबाटै उहाँले उत्तर पाउनु भयो सायद । उहाँ पनि मैन रहनु भयो । मेरो मनमा भने ३४ वर्ष अघिको स्मरण पत्र पत्र भएर आए । ३४ वर्ष अघि तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशनमा सुरुमै महाधिवेशनस्थल पुग्ने, तर महाधिवशेन सुरु हुँदाचाहिँ सबैभन्दा ढिलो देखा पर्ने ‘केटो’ म नै थिएँ ।
नेकपाको चौथो महाधिवेशन स्थल सर्रे अम्बासमा मेरो जिम्मेवारीको प्राबिधिक पक्ष त्यति उत्पात केही पनि थिएन । हलको आन्तरिक साजसज्जा गर्ने र साउण्ड सिस्टमको व्यवस्था गर्ने । त्यतिबेलाको चलन अनुसार साजसज्जा गर्नु भनेको सहिद र अन्तर्राष्ट्रिय ‘प्राधिकार’हरुको फोटो भित्तामा टाङ्ने, आकर्षक अक्षरमा लेखिएका मोटिभेसनल नारा लेखिएका राता तुलहरु र उद्घाटनको ब्यानर तयार पार्ने र उपयुक्त ढङ्गले भित्तामा टाङ्ने । वस् यत्ति भएपछि मेरो काम पुग्यो । साउण्ड सिस्टम मिलाउन चाहिँ चुनौतिपूर्ण थियो । बाहिर आवाज पुग्न नहुने, तर हलभित्र प्रष्टै सुनिने बनाउनु पर्थ्यो । मलाई यी काममाथि पार्टी हेडक्वार्टरले अर्को काम पनि थपेको थियो– महाधिवेशनको डकुमेन्ट प्रडक्सन गर्नु पर्ने । त्यतिखेर कम्प्युटर टाइप प्रयोगमा आइसकेको थिएन । थोरै कागजमा, लामा विश्लेषण गरिएका डकुमेन्ट तयार गर्नुपर्ने चुनौति थिए ।
यसअघि सबै तयारी पूरा भएपछि सूचना लिक भएको आशंकामा सिराहाकै मेथियाई गाऊँमा तय गरिएको महाधिवेशन रद्द गरिएको थियो । त्यसको करिब अढाइ महिनापछि म फेरि त्यही काम गर्न हप्तादिन अघि सर्रे अम्बास जाँदै थिएँ । महाधिवेशनस्थलको सुरक्षालाई ध्यानमा राखी नेता, प्रतिनिधि तथा स्वयंसेवकहरुलाई विभिन्न गौंडाबाट त्यहाँ लगिएको थियो । म अन्तिम स्पटबाट महाधिवेशनस्थलतिर जाँदैगर्दा भने म हुनेवाला महासचिव मदन भण्डारीसँगै थिएँ ।
अहिले ३४ वर्षपछि पनि सर्रे अम्बास पुग्न राइनी खोलाले तीन/तीन ठाँउमा रोक्छ । त्यतिबेला पैदल हिंड्न समेत खोलाले छेक्थ्यो । अहिले बाइकमा र पैदल यात्रा गर्नेहरु झोलुङ्गे पुल हुँदै तर्दा रहेछन् । तर भेल बढेको बेला गाडी सहित तर्न नसकिने रहेछ । सञ्चार सुबिधाबाट त्यो ठाउँ अझै पर रहेछ ।
त्यसबेला हामी दुबैले महाधिवेशनका दस्तावेज र मेरो प्राबिधिक कामका लागि आवश्यक पर्ने सामग्रीका गह्रौँ झोला बोकेका थियौं । तर हाम्रा उद्देश्यका अगाडि पिठ्युँमा बोकेका झोला हलुंङ्गा लाग्थे । मनमा भारी बोकेर हिंड्नु र पिठ्युँमा भारी बोकेर हिंड्नुको भिन्नता मैले त्यसबेला अनुभूत गरेको थिएँ । रातीको यस्तै १२/१ बजेको हुँदो हो । पूर्णिमा आसपास भएकाले जूनको उज्यालेले हामीलाई बाटो देखाएको थियो । चन्द्रमालाई बादलले छेकेको बेला हामी पैतालाले जमिन छामेर हिंड्थ्यौं । तेस्रो घुम्तिमा खोला तर्नुअघि कमरेड मदनले भन्नुभयो– ‘कुन बेला कहाँ कसले प्याक्क हानेर सिध्याउँछ, के मरिहत्ते गर्नु ? आउनुस् एकछिन थकाइ मारौं ।’ हामी दुबै आकाश हेर्दै चौरमा केहीबेर निस्फिक्री पल्टियौं । खुला चौरमा पल्टेर थकाइ मार्दा मदनका मनमा के खेलिरहेको थियो कुन्नी । उहाँले नै फेरि सोध्नुभयो– ‘यी डकुमेन्टहरु तपाईंले पहिले पनि ल्याएर छोड्नु भएको थियो हैन र ?’
मैले छोटो उत्तर दिएँ– ‘हो ।’
उहाँले तत्काल पिठ्युँको भारी हलुका बनाउने उपाय निकाल्नु भयो– ‘त्यसो भए यी भारी किन बोकी रहने त ?’
उहाँको यो प्रश्नसँगै हामीले यी दस्तावेज अनावश्यक रहेको ठान्यौं । मैले झोलाबाट डकुमेन्ट निकालें र मदनले पाइन्टको खल्तीबाट सलाई निकालेर कोर्नु भयो । हामीले सबै डकुमेन्टमा आगो लगायौं । थकाइ मार्दामार्दै डकुमेन्ट छिन्भरमा जलेर खरानी भए । हामी हल्का झोला बोकेर महाधिवशेनस्थल पुग्यौं ।
भदौ ७ गते । त्यतिखेर म ‘टु–इन–वान’ भनिने नेशनल पानासोनिक कम्पनीको टेपरेकर्डरको माइक्रोफोनमा लठ्ठीहरु बाँधेर बनाइएको ‘माइक स्ट्याण्ड’मा जोड्दै थिएँ । एक्कासी मदन कमरेड अलि आत्तिए झैं म भए ठाउँमा आउनु भयो । सायद त्यसबेला उहाँहरु पोलिटव्युरो बैठक बसिरहनु भएको थियो । हतासिएको आवाजमा उहाँले सोध्नु भयो– ‘पहिले ल्याएको डकुमेन्ट कहाँ छ ?’
मैले सहजै उत्तर दिएँ– ‘कमरेड आर (माधव नेपाल)लाई थाहा छ, उहाँलाई दिएको हो ।’
पश्चाताप भावमा मदनले मसिनो स्वरमा भन्नु भयो– ‘गल्ति भयो जस्तो छ कमरेड ! राजनीतिक प्रतिवेदनमा संशोधन भएकोले तपाईँलाई रि–प्रडक्सन गर्न भनिएको हो । पहिलेको त्यो त काम लाग्दैन नि !’
उहाँको कुराले गौंथलीले महिनौं लगाएर बनाएको गुँड भत्कैजस्तै म पनि खङ्ग्रङ्ग भएँ ।
त्यतिबेला म काठमाडौं मजदुर विशेष जिल्ला संगठन कमिटीको प्रमुख (सचिव) थिएँ । मैले भनें– ‘केन्द्रले गरेको करेक्सन त मैले कसरी जान्नु र कमरेड !’
मदन फर्किनु भयो । उहाँ फर्किएको मिनेट भरमै ‘आग–बबुला’ हुँदै माधव नेपाल आउनु भयो । उहाँले चोर औंला नचाउँदै भन्नुभयो– ‘डकुमेन्ट खै ? ल्याउनुस् …!’
मैले भनें– ‘पहिलेको तपाईंलाई नै छोडेको हो, अहिलेको त डढाईयो कमरेड !’
माधव अझै पड्किनु भयो– ‘तपाईँ गैर जिम्मेवार … ।’
मसँग चर्केर बोल्दा माधव नेपालको अनुहार पनि चर्केको थियो । उहाँ भित्रैदेखि रिसाउनु भएको प्रष्ट देखिन्थ्यो । उहाँले मलाई अझ कडा आलोचना गर्दै चेतावनीयुक्त सजायँ सुनाउनु भयो– ‘पर्सि (भदौ ९ गते) महाधिवेशन सुरु हुँदा मलाई सबै डकुमेन्ट जस्ताकोतस्तै चाहिन्छ, म अरु कुरा जान्दिनँ ।’
मेरो गल्ती नभएको कुरा मैले पनि उहाँलाई बुझाउन खोजें र भनें– ‘पुरानो डकुमेन्टमा परिवर्तन भएको कुरा कमरेडहरुले पनि भन्नु भएन, मैले सोध्न मिलेन ।’
मेरो गल्ती नभए पनि स्पष्टिकरणले माधवलाई चित्त बुझेन । उहाँले डकुमेन्ट जसरी पनि मैले नै उपलब्ध गराउनु पर्ने आदेश सुनाउनु भयो ।
उपाय निकाल्दै मैले भनें– ‘ठीक छ कमरेड, मलाई ‘राजमार्ग’सम्म पुर्याउने व्यवस्था होस् । आज राति नै काठमाडौं पुग्छु । सामग्री सहित पर्सि बिहान राजमार्गमा नै हाजिर हुन्छु । त्यहाँबाट यता ल्याउने प्रबन्ध होस् ।’
गल्ती जसको भए पनि महाधिवेशनका लागि तयार भएका डकुमेन्ट त ल्याउनै पर्ने थियो । भयो पनि त्यस्तै । म डकुमेन्ट लिन काठमाडौं आउनु पर्ने भयो । म ७ गते राति भारी मनले काठमाडौं फर्किएँ । लगातारको हिंडाइले थकित भएको म राजमार्गबाट बस पक्रेर काठमाडौं आइपुगें ।
कुपण्डोलमा पार्टीका साथी कवीन्द्र अमात्यको घर छ । उहाँकै घरमा हामीले पार्टी केन्द्रको छपाइको काम गर्न हेभि–ड्युटीवाला फोटोकपी मेशिन राखेका थियौं । त्यहाँ पहिले फाटोकपी गरेका सबै दस्तावेजको मास्टर–कपी सुरक्षित थियो । सायद त्यतिखेर सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो । जलाइएका सबै दस्तावेजलाई मैले सबै प्रतिनिधिलाई पुग्नेगरि फोटोकपी गरें । सेन्टर स्टीच गरी कितावजस्तै बनाएँ र राति नै फर्किएँ ।
मलाई भनिएको थियो– ‘बसबाट ओर्लिएपछि चरा कराएको आवाज सुन्नू, जताबाट आवाज आउँछ, त्यतै जानू । जो व्यक्ति भेटिनुहुन्छ, उहाँकै पछि लाग्नू ।’
पूर्व जाँदा हामी त्यतिखेर लालीमा यातयाताको बस चढ्थ्यौं । लालीमा यातायातको बसले बिहान करिब ३/४ बजेतिर मलाई पुलिस पोस्टकै छेऊमा झारिदियो । अहिले ठ्याक्कै स्मरण छैन, त्यो कटारी वा मिर्चैया कतै हुनुपर्छ । झोलाभरि संवेदनशील दस्तावेज छन् । नजिकै प्रहरी स्टेशन छ । त्यहाँको केही पनि लोकशन नजान्ने म, अनेक जोखिमीहरुको भारी बोकेर उभिइरहेछु । चरा कराएको आवाज कतैबाट पनि आउँदै आएन । झण्डै ४५ मिनेट जति उभिएपछि चरा करायो । मैले चरा कराएको आवाजतिर आँखा दौडाएँ । खुट्टा खञ्च्याङ् खञ्च्याङ् खोच्याएर कमरेड लाल (रामऔतार पासवान) देखिनु भयो । मैले उहाँको कानैमा फुसफुसाउँदै सोधें– ‘किन ढिला कमरेड ? संवेदनशील ठाँउमा यति बेरसम्म कुर्न पर्यो, केही भएको भए कति ठूलो क्षति हुन्थ्यो होला !’
बाटोमा आउँदै गर्दा रामऔतार कमरेडको अर्को दु:खद् घटना भएछ । उहाँले घटना सुनाउनु भयो– ‘म समयमै आइपुग्थें, बाटोमा सर्पले टोक्यो । अब गोमनले डस्यो, मरिने भइयो भन्ने लाग्यो । बाँचि पो हालिन्छ कि भनेर स्वास्थ्य चौकी खोज्नतिर लागें । बाँचें भने त म तपार्इंलाई लिन आइहाल्थें । मरिने भयो भने के गर्ने ? तपाईँ के गर्नु होला ? कम्युनिस्ट मान्छे, मर्नैलाग्दा ‘राम–राम’ भन्नु भएन, के भन्ने होला ? आपत पर्यो । बाटाभरि माओत्से तुङ, माओत्से तुङ भन्दै हिँडें ।’
गोमनले डसेको पीडादायी कहानी पनि रामऔतारले हल्का मनोरञ्जनात्मक शैलीमा सुनाएपछि मैले पर्खनु पर्दाको कठीनाइ पनि भुलें ।
त्यो अप्ठ्यारो समयमा पनि लालका कुराले मलाई रोमाञ्चित गर्यो । सम्झें– हाम्रो पार्टी पङ्ति कसरी धार्मिक अन्धविश्वास र भौतिकवादको छिपछिपे ज्ञानबीच रुमल्लिइरहेको छ । बिडम्बना पनि कस्तो ! मृत्युको भयाक्रान्त शंसयमा पनि यी कमरेड (सायद) स्वर्ग जान जुन माओको नाम जप्दै थिए, आजबाटै सुरु हुने महाधिवेशनले त्यही माओको विचारधारा पार्टीले मार्गदर्शक सिद्धान्तबाट हटाउँदै थियो ।
लाल कमरेडसँग विष्णुपुरवा गाँउ पुग्दा झिसमिसे उज्यालो भयो । गाउँलेहरु हातमा लोटा लिएर बाटो छेउमा मलमुत्र त्याग्न लामबद्ध हुन थालिसकेका थिए । हामीलाई उज्यालोमा हिंड्ने अनुमति थिएन । उता ९ गते महाधिवेशन सुरु हुनुअघि दस्तावेज पुग्नै पर्ने । कमरेड लालले मलाई एउटा सेल्टरमा राख्नु भयो । मैले पार्टीलाई आफू आइपुगेको र महाधिवेशनस्थलमा आउने अनुमतिको लागि पत्र लेखें । मलाई त्यो सेल्टरबाट सर्रे अम्बास कति पर छ, त्यो पनि थाहा थिएन । दिउँसो त्यस्तै ४ बजेतिर होला म महाधिवेशनस्थल पुगें । त्यतिखेर महाधिवेशन सुरु भइसकेको रहेछ । जीवराज आश्रित मैले लौरो बाँधेर बनाएको माइक स्ट्याण्डअघि उभिएर उद्घोषण गर्दै हुनुहुँदो रहेछ । मलाई देख्नासाथ ‘कमरेड.. काठमाडौंबाट भर्खर आइपुग्नु भयो’ भन्नुभयो । त्यो जीवन्त र ऐतिहासिक महत्वको महाधिवेशनमा अन्तत म पनि सहभागि हुन सकें ।
अस्ति गोपाल गुरागाईँ कमरेडले त्यही सन्दर्भलाई स्मरण गर्दा मलाई एकैछिन् महाधिवेशनको त्यस क्षणको नियास्रो लाग्यो । ‘यदि आज मदन जीवित हुनभएको भए …!’ पार गरेको समयको दुरीसँगै मानिसको मनमा यस्तो भावना आउँदो रहेछ । ‘यदि चौथौ महाधिवेशनले कोर्स करेक्सन नगरेको भए …’ सँगसँगै यो पनि आइहाल्दो रहेछ । भावना र समय दुबै अदृश्य छन्, तर तिनका परिणामहरु दृश्यमै छन् । ती कहिल्यै नमेटिने हुँदा रहेछन् ।
अहिले सम्झन्छु– ‘२०४६ सालको चौथो महाधिवेशनदेखि २०७८ सालको दशौं महाधिवेशनसम्म पार्टी भित्र ‘व्यवस्थापन’ भन्ने विषयले मलाई छोडेको छैन, भलै भूमिका फरक फरक किन नहोस् ! सर्रे अम्बासमा नेकपा स्थापनाको हिरक स्तम्भ निर्माणको शिलान्यास भदौ १३ गते भयो । त्यस स्मारक निर्माण समन्वयको अहिले पनि मेरो जिम्मामा परेको छ । पार्टीमा लाग्दा जिम्मा पाउँदा जो पनि दङ्ग पर्छन् । ऐतिहासिक महत्वको जिम्मा पाउँदा म पनि दङ्ग किन नपरौं ?
(एमाले उपमहासचिव विष्णु रिमालको पर्सनल वेभ https://www.bishnurimal.com.np बाट साभार)














HoR Election: Chief Election Officer Offices to be established today
निर्वाचन आयोग परिसरमा देउवा र गगन पक्षकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
खैरो हेरोइनसहित एक जना पक्राउ
Trump Announces Formation of Gaza Peace Council
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रतिक्रिया