खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए । सर्वसाधारणका लागि राखिएको चामल सकिएको उनले बताए । विपद् र कारागारका लागि मात्र चामल राखिएको र सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ ।
मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ । डिपोमा रहेको मौज्दात चामल सकिएको हुँदा ठेक्का प्रक्रियाबाट ढुवानी नहुञ्जेलसम्म खाद्यान्न बिक्री वितरण कार्य बन्द गरिएको शाखा प्रमुख ओझाले बताए ।
पूर्वी उत्तरी भेगको कोल्टीस्थित डिपोमा भने दुई सय क्विन्टल चामल मौज्दात छ । कोल्टी डिपोमा रहेको चामल एक साताका लागि मात्र पुग्ने भएकाले एक सातापछि ताला लगाएर बिक्री बन्द गरिने सार्वजनिक सूचना टाँस गर्नुपर्ने अवस्था आएको प्रमुख ओझाको भनाइ छ ।
“ठेक्काका लागि बोलपत्र आह्वान गरेका छौँ । त्यसपछिको प्रक्रिया चलिरहेको छ । यस्तै ढिलासुस्ती भए दसैँसम्म पनि चामल नआउन सक्छ”, ओझाले भने । जिल्लाको हिमाली गाउँपालिकामा खाद्यान्न सङ्कट भएको पाँच महिनाभन्दा बढी भएको छ । गाउँपालिकाको कवाडीस्थित अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल जेठमा सकिएपछि पाँच महिनादेखि खाद्यान्न सङ्कट भएको स्थानिय धनलाल रोकायाले बताएका छन् ।
ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छ्याँ, गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ र ५ को रुगीनमा खाद्यान्न सङ्कट भएको हो । यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत खाद्यान्न सङ्कट भएको छ । हिमाली गाउँपालिका–१ बिच्छयाँका धर्मलाल रोकाया दुई दिन लगाएर कवाडी अस्थायी डिपोमा चामल किन्न आएका भए पनि डिपोमा चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फर्किएका छन् ।
आव २०७९(८० मा कवाडी डिपोमा तीन हजार पाँच सय क्विन्टल चामल थियो । कवाडी डिपोको कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा चामल मौज्दात नरहेको शाखाले जनाएको छ । आव २०८०(८१ मा कवाडी डिपोका लागि दुई हजार पाँच सय क्विन्टल चामलको कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो छैन । कवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो रु ५२ मा बिक्री हुने गरेको थियो । डिपोमा चामल अभाव भएपछि सर्वसाधारणले बजारमा प्रतिकिलो रु ८० मा हालेर चामल किन्ने गरेका छन् ।
साविकको बिच्छ्याँ गाविसमा मात्र चार हजार जनसङ्ख्या रहेको छ । डिपोमा चामल सकिएपछि बिच्छ्याँका घरघरमा खाद्य सङ्कट भएको छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाउँपालिका जिल्लाकै दुर्गम तथा विकट गाउँपालिका हो । गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।
त्यस्तै स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल सकिएको चार महिना पुगेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताएका छन् । गत आवको पाँच सय क्विन्टल चामल जेठ अन्तिम सातामा सकिएको हो । यो आवको चामल पाँच सय क्विन्टल रहेको भए पनि ढुवानी ठेक्का प्रक्रियामा रहेको छ । जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रमा चामल सकिएको भए पनि ढुवानी प्रक्रिया कहिले सकिने हो, कहिले चामल ढुवानी हुने हो यकिन नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख ओझाले बताए ।

















Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
4 die, 5 injured in firing incidents in Karachi
प्रतिक्रिया