मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमीखेतीमा निर्भर

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा अहिले व्यवसायीक सिमीखेती गरिरहेका छन । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए । उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी लगाएका छन ।
छन्त्यालजस्तै त्यहाँ बसोबास गरिरहेका २१ घरधुरीले नै परम्परागतरूपमा हुने कोदो, मकै, जौँ, फापरलगायतका खाद्यबालीलाई छाडेर आलु र घ्यूसिमीको व्यावसायिक खेती सुरु गरेका हुन । चिसो हावापानी भएकाले खाद्यबाली पाक्नसमेत समय लाग्ने र नगद आम्दानी नहुने भएपछि स्थानीयबासीले आयआर्जनका लागि व्यावसायिक आलु र सिमीखेती विस्तार गरेको बताउँछन ।
जिल्ला कृषि ज्ञान केन्द्र र रघुगङ्गा गाउँपालिकाले समेत कुइनेमङ्गलेलाई आलु र सिमी पकेट क्षेत्र घोषणा गरेको छ । त्यस गाउँको करिब एक हजार दुई सय रोपनीमा अहिले सिमीखेती गरिएको श्रीकृष्ण कृषि तथा पशुपालन कृषक समूहका सचिव बदेवी छन्त्यालले जानकारी दिईन । आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको उनले बताईन् ।
आलु खनेर घरमा भित्र्याइसकेर बिक्री गर्न थालेका स्थानीयको बारीमा सिमी फल्न थालेको छ । बारीभरि थाक्रोमा सिमीका बोटहरुमा लहलह कोसा लाग्न थालिसकेको छ । रैथाने खाद्य बाली पाक्न पाँचदेखि छ महिना लाग्ने र त्यसले आयआर्जन नहुने अवस्थामा गाउँमा उत्पादन हुने आलु र सिमी बिक्री गरेर आम्दानी गर्न थालेपछि स्थानीयवासीको आयआर्जनमा सहज भएको छ ।
तीन महिनामै बाली पाक्ने र बजारीकरण गरेर नगद आम्दानी गर्न सकिने भएकाले आलु र सिमीखेतीले व्यावसायिकता पाएको कृषक समूहका अध्यक्ष बिना छन्त्यालले बताईन् । सदरमुकाम बेनीबाट गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै मङ्गलेखानीसम्म सडकको पहँुच पुगेकाले त्यहाँ उत्पादन हुने आलु र सिमी बजारीकरणमा सघाउ पुगेको अध्यक्ष छन्त्यालले जानकारी दिईन् ।
“यहाँ आलु पहिलेदेखि नै हुने फल्थ्यो तर बिक्री भने हुने थिएन, स्थानीयवासीले आफैँले प्रयोग गर्ने र आफन्तलाई कोसेलीका रूपमा पठाउने चलन थियो, तर गाउँमा सडक आएपछि गाउँको आलु बेनी, पोखरालगायतका बजारमा पुग्न थालेको छ, गाउँबाट सिमी पनि निर्यात हुन थालेको छ, कच्ची सडकको अवस्थालाई बाह्रै महिना सञ्चालन हुने बनाउन सकेमा यहाँका कृषकलाई राहत हुने थियो”, अध्यक्ष छन्त्यालले भनीन् ।
गाँउमा आलुबाट मात्रै वार्षिकरूपमा रु ६० लाख बढी नगद भित्रने गर्छ । यो वर्ष भने झन विगतका वर्षको तुलनमा आलुको उत्पादन बढेको छ । बजारमा माग नबढेका कारण अझै पर्याप्त मात्रामा आलु निर्यात हुन नसकेको स्थानीय कृषक निश्मा छन्त्यालले बताईन । परीक्षणको रूपमा गरिएको सिमीखेती सफल भएपछि तीन वर्षदेखि समूह नै दर्ता गरेर व्यावसायिकरूपमा खेतीलाई विस्तार गरिएको उनको भनाई छ ।
“पहिले गाउँको बारीसँगै जङ्गलका पाखोबारीमा समेत आलुखेती गर्ने चलन थियो, उत्पादन भएको आलुले बेँसीमा अन्न सटही हुन्थ्यो, तर अहिले उन्नत जातको आलु र रैथाने बाली छाडेर सिमीखेती गर्न थालेपछि दुःख पनि कम भएको छ, उत्पादन पनि बढेको छ”, उनले भनीन् ।
उक्त गाउँका हरेक घरले तीनदेखि पाँच टन आलु उत्पादन गर्छन । आलुखेती गरेको अधिकांश जमिनमा अहिले सिमीखेती गरिएको छ । हरेक घरले दुईदेखि आठ मुरीसम्म सिमी उत्पादन गर्ने गरेका छन । यहाँ उत्पादन भएको सिमी प्रतिपाथि रु छ सयमा बिक्री हुने गरेको छ । गत वर्ष रघुगङ्गा गाउँपालिकाले मङ्गलेका कृषकलाई अनुदानमा आलुको बीउ, सिँचाइ पाइप, बोरा, रोग कीरा नष्ट गर्ने विषादीलगायत सहयोग गरेको थियो । गाउँमा आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था आएकाले स्थानीयवासीले यस क्षेत्रमा चिस्यानगृह भवन निर्माण गर्न माग गरेका छन ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया