शुक्रबार, फागुन १, २०८२

गैरीगाउँ हत्या प्रकरण : यसरी भएको थियो घटना

मेरोन्यूज २०८० असोज १ गते ११:११

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरण सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रहरीद्वारा गठित छानबिन समितिका अनुसार एकै परिवारका तीनसहित चार जनाको विभत्स हत्या प्रकरण रिसिइबी र प्रतिशोधले भएको पाइएको हो ।

विगतमा मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न भएको विवादको रिसिइबी साँध्दा उक्त घटना भएको छानबिन समितिका संयोजक काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी एक्लैले हत्या गरेको समितिको निष्कर्ष छ । उनले सुरुमा एक जना मोरङका विशाल राईको हत्या गरेका र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरुको पनि हत्या गरेको स्वीकार गरेका राठौरले बताए ।

विगतमा हाल हत्या गरिएका विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिँदा विवाद हुन गई राईले प्रतिवादी भण्डारीलाई कुटपिट गरेकामा सोही रिसइबी÷प्रतिशोधका कारण हत्या गरेको पाइएको उनले बताए ।

उनको साथबाट घटनाको दिन बोकेको झोला र सोही झोलामा रहेको खुकुरी बरामद गरिएको छ । उनलाई पक्राउ गर्दा घटना घटाउँदा लगाएको कपडा नै लगाएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

यसरी भएको थियो घटना

भण्डारीले गत भदौ २९ गते नै विशाल राईलाई सिध्याइदिन्छु भन्दै आफू बस्ने गरेको दिदीको कोठाबाट उक्त खुकुरी झोलामा हाली पछाडिपट्टिको बन्द गेटबाट माथि चढेर समिलमा प्रवेश गरेका थिए । त्यसपछि राई बस्ने कोठामा गई हेर्दा नदेखेपछि कोठाको सोफामा बसे । केही समयपछि विशाल राई आएर विवाद भई कुटपिट गरेपछि भण्डारीले खुकुरीले हानेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

उक्त घटना हुँदा सुभद्रा भुजेलले देखेपछि कराएको थाहा पाएपछि घटना बाहिर आउने डरले भण्डारीले सुभद्राको पनि हत्या गरेको र सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखेपछि उनलाई र त्यही बेलै आइपुगेकी उनकी श्रीमती अम्बिकाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने भण्डारी सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म अध्ययन गरी १२ कक्षासम्म काठमाडौँमा अध्ययन गरेको खुल्न आएको छ । सो घटना अनुसन्धान सम्बन्धमा साङ्केतिक भाषाविज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफूले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि सोही घरमा रहेका दीपेन्द्र राईले देखेपछि उनी प्रहरीलाई खबर गर्न जाने क्रममा ट्याक्सी चढ्न लाग्दा प्रहरी घटनास्थलमा पुगेको थियो । रगत लत्पतिएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा उनी निर्दाेष देखिएको राठौरले बताए ।

भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो । उक्त हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले राठौरकै नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो । सोही समितिले घटनाको सफल अनुसन्धान गरेको हो ।

प्रतिक्रिया