शुक्रबार, फागुन १, २०८२

कोशी सरकारमा सहकार्य गर्ने एमाले प्रस्ताव एकीकृत समाजवादीद्वारा अस्वीकार

मेरोन्यूज २०८० असोज १ गते २०:११

विराटनगर । कोशी प्रदेश सरकारमा सहकार्य गर्न एमालेले गरेको प्रस्ताव नेकपा (एकीकृत समाजवादी)ले अस्वीकार गरेको छ । आइतबार एमाले स्थायी समिति सदस्य एवं कोशीका पूर्वमुख्यमन्त्री शेरधन राई तथा एकीकृत समाजवादीका सचिव एवं कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईबीच भेटवार्ता भएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

भेटवार्तामा पूर्वमुख्यमन्त्री एवं एमाले स्थायी समिति सदस्य शेरधनले कोशीमा सत्ता सहकार्यका लागि आग्रह गर्दै आलोपालो मुख्यमन्त्री बन्ने प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव एकीकृत समाजवादीका संसदीस्य दलका नेता राजेन्द्रले अस्वीकार गरेका हुन् ।

एमाले नेता शेरधनले सत्ता सहकार्यको प्रस्ताव गरेको र आफूले अस्वीकार गरेको राजेन्द्रले बताए । ‘एमाले नेता शेरधन राईजीले सत्ता सहकार्यको प्रस्ताव गर्नु भएको थियो । मैले अहिलेलाई त्यो सम्भव नभएको बताए,’ राईले भने ।

शेरधनले प्रदेशसभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिएमा सरकारको नेतृत्वमा आलोपालो गर्न सकिने प्रस्ताव राजेन्द्र राईसमक्ष गरेका थिए ।

त्यो सँगै शेरधनले दुई प्रस्ताव गरेको पनि राजेन्द्रले बताए । उनका अनुसार पहिलो, एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा सरकार बनाउने र मुख्यमन्त्रीमा आलोपालो गर्ने । दोस्रो, अहिलेको सरकारलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहित सर्वदलीय बनाउने प्रस्ताव शेरधनले गरेका थिए ।

मध्यावधी रोक्नका लागि आलोपालो सरकार बनाउने प्रस्ताव राजेन्द्रसँग शेरधनले गरेका हुन् ।

प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिको समेत समर्थन लिएर विश्वासको मत पाउनु असंवैधानिक भन्दै सर्वोच्च अदालतले कांग्रेसबाट मुख्यमन्त्री बनेका उद्धव थापाको पद खारेज गर्दै प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

सोही अनुसार २२ भदौमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले एमालेले उनको पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेको छ । त्यसै सिलसिलामा शेरधनले प्रदेशसभामा ४ सिट रहेको एकीकृत समाजवादीलाई सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ४७ प्रदेशसभा सदस्यको समर्थन पाउनुपर्छ । एमालेको ४० प्रदेशसभा सदस्य छन् । ६ सिट भएको राप्रपा र ४ सिट भएको एकीकृत समाजवादीको समर्थन पाएमा कार्कीको पक्षमा बहुमत जुट्छ ।

प्रतिक्रिया