शुक्रबार, फागुन १, २०८२

काँक्रा खेतीबाटै कमाउछन् मनग्य आम्दानी

मेरोन्यूज २०८० असोज २ गते १०:४७

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रा खेती गरी मनग्य आम्दानी कमाउदै आईरहेका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आईरहेका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर घर–व्यवहार चलाउन सहज भएको उनले बताए ।

Advertisement
nepal life insurencenepal life insurence

उनले भने, “एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ”, “स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ ।” उनका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेको छ । पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा छौं । बजारको मागअनुसार काँक्रोका जात खेतमा रोप्ने गरेको उनको भनाई छ ।

“अरु किसानभन्दा पहिला नै बजारमा काँक्रो पुर्याइसक्छाँै” त्यही भएर मूल्य अधिक पाइन्छ, बिक्री गर्न पनि झन्झट हुँदैन, अन्य किसानले बजारमा काँक्रो बिक्री गरेर सिध्याएपछि पुनः काँक्रो बजारमा पुर्याई बेच्छौँ ।” बजारमा स्थानीय जातका काँक्रोको बढी माग हुने भएकाले यसकै खेतीलाई बढावा दिइँदै आएको उनले बताए ।

उनले काँक्रोसँगै मौसमी बेमौसमी तरकारी खेती पनि गर्दै आईरहेका छन् । काँक्रो र तरकारी खेती गरी वर्षमा रु १५ लाख बढीको बिक्री गर्छन् । जसबाट रु १२ लाख जति आम्दानी हुने गरेको छ । श्रीमान्–श्रीमतीसँगै घरका अन्य सदस्यले व्यावसायिक तरकारी खेती र काँक्रो खेतीमा गोडमेल, मल राख्ने, सिँचाइ गर्ने, टिप्ने र बजारमा लगेर बेच्नेसम्मका काममा सहयोग पुर्याईरहेका छन् । तरकारी खेतीबाटै गाउँमा पक्की घर, सिँचाइका लागि पम्पसेट, खेत जोत्नका लागि पावर टिलर समेत जोडेको उनले बताए ।

संयुक्त परिवारमा बस्दै आएका चौधरीले निजी विद्यालयमा पढ्दै आएका बालबालिकाको खर्च, घर खर्च काँक्रो र तरकारी खेतीबाटै धान्दै आईरहेका छन् , दुई बिघा जग्गामा उनले व्यावसायिकरूपमा काँक्रो र तरकारी खेती गर्दै आईरहेका छौं, “वर्षात् र चिसो मौसमका बेला प्लाष्टिक टनेलमा काँक्रो र तरकारी खेती हुन्छ”, भरतका दाजु लक्ष्मणले भने “अरु बेला खेतमै टनेल बाहिरै खेती गर्छौँ ।”व्यावसायिक खेतीका लागि घरमै तयार गरिएको प्राङ्गरिक र रासायनिक मलको प्रयोग गरिँदै आएको उनले बताए ।

वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भरत वडाकै उत्कृष्ट कृषकका रूपमा रहेको बताउदै “बाह्रै महिना तरकारी र काँक्रो खेती गरेर बढी कमाई गर्ने किसानमा उनको गणना हुन्छ”, उनले भने “तरकारी खेती गर्ने वडामा तीन दर्जन बढी किसान भए पनि उनी एक नम्बरमा छन् ।”

आधुनिक तरिकाले कृषि गरी व्यावसायिकतामा लागेका किसानले सरकारी पक्षबाट उपलब्ध गराउने अनुदानका कार्यक्रम पाउनुपर्ने हो यसका लागि वकालत गरिने वडाध्यक्ष चौधरीले बताए । “भरतजस्ता किसान युवाका लागि प्रेरणका स्रोत हुन”, उनले भने “वैदेशिक रोजगारीमा जाने युवालाई भरतको व्यावसायिक खेतीको प्रगति देखाएरै पनि रोक्न सकिन्छ, युवालाई व्यावसायिक कृषितर्फ डोर्याउन अनुदानका कार्यक्रम लागू गर्नुपर्छ, जुन वास्तविक किसानसम्म पुग्नुपर्छ ।”

प्रतिक्रिया