सोमबार, वैशाख ८, २०८२

खानेपानी संस्थानका शाखा प्रमुख साह भ्रष्टाचारका मुद्दामा दोषी ठहर

मेरोन्यूज २०८० असोज ५ गते २०:५९

काठमाडौँ । खानेपानी संस्थानको बुटवल शाखा कार्यालय प्रमुख सन्तोष साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुसीप्रसाद थारूको इजलासले उनलाई दुई मुद्दामा दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ असोज ०७७ मा साहसमेतलाई प्रतिवादी बनाई चलाएको मुद्दामा साह दोषी ठहर भएका हुन् ।

अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले साह र अनिता निर्माण सेवाको सञ्चालिका शान्ति रानालाई जनही दुई–दुई वर्ष कैद सजायको फैसला भएको जानकारी दिए ।

‘उहाँहरूबाट जनही आठ लाख २२ हजार रुपैयाँ जरिवाना भराउने फैसलामा छ । साथै, प्रतिवादी सन्तोष साहबाट आठ लाख २२ हजार रुपैयाँ असुलउपर गर्ने फैसला भएको छ,’ कार्कीले भने ।

साहलाई स्रोत नखुलेको नगद दुई लाख ३३ हजार पाँच सय रुपैयाँ रकमसहित धादिङबाट काठमाडौं आउँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको थियो । त्यो रकम उनले बुटवलमा पाइप लाइन विस्तारको जिम्मा पाएको अनिता निर्माण सेवाबाट कमिसन लिएको खुलेको थियो ।

निर्माण कम्पनीकी सञ्चालक शान्ति रानाले निर्माण सेवाको कम्पनीबाट आठ लाख २२ हजार रुपैयाँ कार्यालय प्रमुख साहका बुबा रामनारायण साहु सुडीको खातामा हालिदिएकी थिइन् ।

प्रतिक्रिया