आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन (बागलुङ) । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भित्र्याउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भित्र्याउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ ।
वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ क्वीन्टल आल बर्सेनि उत्पादन गर्ने गरेका छन् । तर, आलुले भने उचित बजार नपाएको उनीहरूको गुनासो छ ।
भौगोलिक विकटताका कारण ओझेलमा परेको ढोरपाटन र निसेलढोर क्षेत्रको हजारौँ रोपनी क्षेत्रफलमा किसानले आलु लगाउँदै आएका छन् । पाँच वर्ष अगाडिसम्म ढुवानीको समस्या खेप्दै आएका किसानले अहिले मूल्य नपाएको दुःखेसो पोख्छन् ।
एक दशक अगाडिसम्म ढोरपाटन सडक सञ्जालले जोडिएको थिएन । सडक नजोडिँदा कतिपय किसानले घोडा खच्चडमा ढुवानी गरी बजारसम्म पुर्याउँथे भने कतिपयले मजदुर लगाएर बोकेरै बिक्रीका लागि बेसी झर्ने गर्थे । तर अहिले त्यो परिस्थिति छैन ।
सडकले यस क्षेत्र जोडिनु पूर्व किसानले उत्पादन गरेको आलु घोडा खच्चडमार्फत बेसीका गाउँहरूमा ल्याई मकै, धान, गहुँ र मकैसँग साट्ने गर्दथे । अहिले पनि यो चलन कायमै छ । निसेलढोरसम्म नै मोटरबाटो पुगेपछि आलु ढुवानीमा केही सहजता भने भएको छ । तर बाह्रै महिना सडक नचल्दा त्यसबाट कृषीले ठूलो नोक्सानी व्यहोर्न विवस छन् । यति बेला आलु खन्ने, गोदाममा थन्क्याउने र बजारका लैजानका लागि तयार गर्ने काममा उनीहरू व्यस्त छन् ।
बागलुङ जिल्लालाई पुग्ने आलु उत्पादन यस क्षेत्रमा उत्पादन भए पनि भारतबाट आएको आलुका कारण स्थानीय उत्पादनले बजार पाउन सकेको छैन । घण्टौँ लगाएर बजारमा ल्याएको आलुले कम मूल्य पाउँदा किसान मर्कामा पर्ने गरेका छन् । भातीय बजारबाट आयातित आलुको मूल्यले आफूहरू ठूलो मर्कामा पर्ने गरेको स्थानीय कृषक शेरबहादुर विकले बताए । पहिले–पहिले मकै र कोदोसँग आलु साट्दा केही फाइदा हुने भन्दै अहिले बजारमा बिक्री गर्दा घाटा मात्रै व्यहोर्नु परेको विकले गुनासो गरे ।
‘गाउँ ठाउँमा आलु धेरै उत्पादन हुन्छ, आलु धेरै उत्पादन भएर के गर्नु उचित मूल्यनै पाउन सकिँदैन, बजारमा बुटवल, सुनौलीबाट आएका आलु छ्यापछ्याप्ती छन्, त्यो आलुलाई व्यापारीले ४० रुपैयाँदेखि ६० रुपैयाँसम्म बेच्छन्, हामीलाई ४० मा माग्छन्, यसरी त हाम्रो वर्षभरिको दुःख पनि उठ्दैन,’ उनले भने, ‘ढोरपाटनबाट ढुवानी गरेर बुर्तिबाङ ल्याउँदा पनि हजारौँ रुपैयाँ खर्च भएको हुन्छ, यो व्यवस्था सरकारले मिलाउन सके हामी किसानहरुलाई राहत मिल्ने थियो ।’
जिल्लामा आलु उत्पादनका हिसाबले प्रख्यात मानिने निसेलढोर, ढोरपाटन, तमानखोलाको लाम्मेला, ताराखोला लगायतका क्षेत्रमा हरेक वर्ष किसानले लाखौँको आलु उत्पादन गर्दै आएका छन् । आलु बिक्री नहुँदा ठूलो नोक्सानी व्यहोर्नुपर्ने बाध्यता उनीहरूमा छन् । स्थानीय किसान तुलबहादुर घर्ती मगरले बर्सेनि करिब सात लाखको आलु उत्पादन गरे पनि सबै बिक्री गर्न नसकेको गुनासो पोखे । गाउँसम्मै भारतबाट आयातित आलु आउने हुँदा विक्री गर्न समस्या भएको बताए ।
बाहिरबाट आएको आलु देख्दा राम्रो र किन्दा सस्तो पर्ने हुँदा उपभोक्ताले गाउँमा उत्पादन भएको भन्दा आयातित आलु किन्ने गरेको उनको भनाइ छ । तर त्यो आलुभन्दा गाउँमा उत्पादन भएको आलु स्वास्थ्यका लागि फाइदाजन हुने घर्ती मगरले बताए । स्थानीय सरकारले बाहिरबाट आउने आलुलाई प्रतिबन्ध नलगाउँदासम्म स्थानीय आलुले बजार नपाउने उनको भनाइ छ । नगरपालिका तथा गाउँपालिकाले नीति बनाएर लाग्नु पर्ने उनी बताउँछन् ।
‘आलुले बजार पाउँने हो भने हाम्रो क्षेत्रका किसान कहिल्यै पनि गरिब हुनु पर्ने थिएन, हरेक वर्ष सामान्य किसानले पनि दुईदेखि १५ लाख बढीको आलु उत्पादन गर्छ, उसले बच्ने भनेको उही ५/७ लाखको हो,’ घर्ती मगरले भने– ‘बाहिरबाट आउने तरकारीलाई सरकारले रोक्न सक्थ्यो भने यहाँका थुप्रै किसानहरुको जीवनस्तर उकासिने थियो, वर्षभरी दुःख गरेर आलु उत्पादन गर्छ, त्यही पनि समयमै बिक्दैन, बिके पनि मूल्यभन्दा निकै कममा बेच्नु पर्छ, हाम्रो समस्या कसले बुझ्ने ?’
यस वर्ष निसीखोला क्षेत्रमा आलु उत्पादन बढ्ने देखिएको छ । गाउँपालिकाले किसानलाई नयाँ प्रबिधिबाट आलु लगाउन तालिम दिएको र सोही अनुसार खेती गरेको हुँदा आलु उत्पादन बढ्ने सम्भावना देखिएको कृषि शाखा प्रमुख तारा परियारले बताए । नयाँ प्रविधिबाट पुरानै बीउ लगाउँदा धेरै ठाउँका किसानले आलु बढेको जानकारी गराएको परियारले बताए । गाउँपालिको यस वर्ष आठ हजार किलो रैथाने जातको आलुको बीउ किसानलाई वितरण गरेको उनको भनाइ छ ।
प्रमुख परियारले भने, ‘निसीखोला र निसेलढोरमा धेरै आलु उत्पादन हुन्छ, यहाँका अधिकांश किसनाले पुरानै शैलीबाट आलु खेती गर्दै आउनुभएको थियो, हामीहरुले नयाँ प्रविधिबाट आलु खेती गर्नका लागि तालिम दियौँ, उहाँहरुले यसपाली फरक शैलीमा पुरानै बीउ प्रयोग गरेर खेती गर्नुभयो, राम्रो उत्पादन भएको प्रतिक्रिया दिनुभएको छ, यस वर्ष आलु उत्पादन बढ्ने सम्भावना बढी छ, समयमै वर्षा भयो, नयाँ तरिका पनि अपनाइयो ।’
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि आयातित तरकारी रोक्नका लागि निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकासँग छलफल गरी रहेको बताए। पश्चिम बागलुङका चार पालिकाले बाहिरबाट आउने आलु लगायतका तरकारीजन्य वस्तु आयातमा रोक लगाई स्थानीय उत्पादनलाई जोड दिने गरी योजना बनाएको बताए । यहाँका किसानलाई उन्नत जातका बीउविजन, आवश्यक तालिम, आधुनिक उपकरण र प्राविधिक सहयोग गरी उत्पादन बढाउन प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्ने उपप्रमुख कायतको भनाइ छ ।
















नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
Former PM Bhattarai bereaved of father
झापा- ५ मा रास्वपाको सम्पर्क कार्यालय रहेको घरमा ढुंगा प्रहार
Gold, silver prices decline
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
चुनावी घोषणपत्रमा समेटिएला नदी संरक्षणका मुद्दा ?
प्रतिक्रिया