भरतपुरमा असल करदातालाई स्टिकर

चितवन । भरतपुर महानगरपालिकाले समयमा नै कर तिर्ने करदाताकामा स्टिकर टाँस्न सुरु गरेको छ । महानगरले बहाल कर, सम्पत्ति कर र व्यवसाय करका तीन फरक–फरक रङका स्टिकर टाँस्न सुरु गरेको हो ।
महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान थालेसँगै स्टिकर वितरण सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार गत भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र सबैलाई करको दायरामा आउन सार्वजनिक अपिल गरिएको थियो । करको दायरा आएकाहरूलाई स्टिकर वितरण गरिएको हो ।
महानगरपालिकाले विभिन्न पाँच शीर्षकमा फरक–फरक स्टिकर तयार गरेको छ । व्यवसाय कर, घरबहाल कर, सम्पत्ति कर, मनोरञ्जन कर र सेवा शुल्क दस्तुर गरी पाँच रङका स्टिकर तयार भएको जनाउँदै उनले तीन स्टिकर टाँस्न सुरु गरिएको बताए । क्रमशः अन्य स्टिकरसमेत टाँस्दै जाने उनले बताए ।
उनले भने, “करदाताले जुन कर तिर्नुहुन्छ, उनीहरुको फार्ममा सोही स्टिकर टाँस्न सुरु गरेका छौँ ।” स्टिकरका आधारमा अनुगमन तीव्र बनाइने उनले बताए । वडा र टोल विकास समितिहरूलाई पत्राचार गरी करको दायरामा आउन सबैलाई आह्वान गर्न लगाइएको छ ।
महानगरपालिकाले कर सङ्कलनका लागि ‘टास्कफोर्स’समेत बनाउँदै छ । यसले कर सङ्कलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमनसमेत गरिने छ । महानगरमा उठ्नुपर्ने करको २० प्रतिशतमात्रै उठेको भन्दै उनले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी कर उठाइने बताए । चालु आवमा महानगरले रु एक अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । उनले चालु आवमा रु दुई अर्बभन्दा बढी राजस्व उठाउने योजना बनाइएको बताए ।
गत आवमा रु एक अर्ब २५ करोड हाराहारीमात्रै राजस्व सङ्कलन भएको थियो । अहिलेको अवस्था राम्रो नभएकाले करको दर नबढाइने जनाउँदै उनले दायरा बढाएर कर सङ्कलन गर्न लागिएको बताए । महानगरले नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत् प्राधिकरणलगायतका कार्यालयसँग समन्वय गरेर कर सङ्कलन अभियानलाई अघि बढाएको छ । महानगरमा कर नतिरेसम्म अन्य सुविधाबाट समेत बञ्चित हुने गरी योजना अघि सारिएको हो ।
चालु आवमा हालसम्म रु १७ करोड कर सङ्कलन भएको छ । महानगरप्रमुख रेनु दाहालले चालु आवमा राजस्व सङ्कलनलाई अभियानकै रूपमा अघि बढाइएको जानकारी दिनुभयो । उनका अनुसार असल करदाताकामा स्टिकर टाँस्न सुरु गरिएको छ । विगतका वर्षमा लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको भन्दै उनले चालु आवमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताए । महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उनको भनाइ छ ।
महानगरमा सङ्कलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर सङ्कलनलाई अभियानका रूपमा अघि बढाएको उनको भनाइ छ ।
















4 die, 5 injured in firing incidents in Karachi
यस्ता छन् कोशी सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन
चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया