ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति

बागलुङ । राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको आठ वर्ष वितिसक्दा पनि स्तरोन्नतिको काम सम्पन्न हुन सकेको छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा स्थानीय र पर्यटकले वर्षौँदेखि सास्ती खेप्दै आईरहेका छन् ।
सरकारले तराई–पहाड जोड्नका लागि बनाएको योजनाको काम कछुुवागतिमा भइरहेको छ । कलिपलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ जिल्लालाई जोड्ने उक्त सडकखण्डमा अहिले स्तरोन्नति तथा कालोपत्रको काम निर्माण कम्पनीले गरिरहेको सालझण्डी–ढोरपाटन आयोजना कार्यालयका इञ्जिनियर सरोज आचार्यले बताए ।
पर्यटकलाई सहज रुपमा ढोरपाटन ल्याउने उद्देश्यले सडक स्तरोन्नति थालिए पनि काम नसकिदा यातायातका साधान गुड्न नसकेका स्थानीय बताए ।
“कूल एक सय ९१ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै ६१ मिलोमिटर सडक पर्छ”,उनले भने, “त्यसमध्ये चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्र भइसकेको छ ।” बाँकी ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण रहेको इञ्जिनियर आचार्यले बताए उनका अनुसार सडक स्तरोन्नति गरी ग्राभेलिङ गर्नका लागि गतवर्ष कार्तिकमा सम्झौता भएको थियो ।
सडक खुलेको दशक बित्नै लाग्दा पनि स्तरोन्नति हुन नसक्दा आवागमनमा सास्ती हुने गरेको निसीखोलाका चुराबहादुर कुँवरले बताए । । गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु खण्डमा कामले गति लिए पनि बागलुङ खण्डमा काम हुन नसकेको उनको भनाई थियो । उक्त खण्डमा हालसम्म करिब ३० प्रतिशत काम भएको आयोजना कार्यालयले जनाएको छ ।
“यस खण्डमा दैनिक सयौँ स्थानीय तथा पर्यटकले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । आयोजनाको बुर्तिबाङ–ढोरपाटन खण्डअन्तर्गत बोबाङमा तीन वर्ष अगाडि आएको बाढीले धेरै स्थानमा सडक बिगारेको थियो”, कुँवरले भने, “बाढीले क्षति पु¥याएको खण्डमा यात्रा गर्न निकै जोखिमपूर्ण छ ।”
सडक समयमै स्तरोन्नति नहुँदा ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ तथा निसीखोला गाउँपालिका–७ का स्थानीयवासी बढी मर्कामा परेका उनले बताए । सडक सहज नहुँदा गाउँबाट बुर्तिबाङ बजार झर्न निकै मुस्किल पर्ने गरेको उनको भनाइ थियो ।
कुँवरले निसीखोलाको राजकुट, हर्पे, कुडुला, ढालपानी लगायतका गाउँमा बुर्तिबाङ बजारबाटै दैनिकी उपभोग्य सामान ल्याउनु पर्ने भन्दै सडकका कारण महँगो भाडा तिर्न बाध्य भएको बताए । साँघुरो र अप्ठ्यारो सडकका कारण यात्रा गर्न पनि जोखिमपूर्ण रहेको उनको भनाई थियो ।
“सडक खुलेको आठ वर्ष भइसकेको छ, अहिलेसम्म जस्ताको त्यस्तै छ, पैदल हिँड्न पनि गाह्रो हुने सडकमा गाडी कसरी गुड्छन् ?”, कुँवरले भने, “बर्खाको तीन÷चार महिना त गाडीनै चल्दैनन्, बाटो अप्ठ्यारो हुँदा गाडी भाडा र सामान ढुवानी गर्दा महँगो रकम तिर्नुपरेको छ । बुर्तिबाङ बजारबाहेक अन्य ठाउँबाट सामान ल्याउनसक्ने अवस्था छैन, सडक छिटो बने बजारबाट ल्याउने सामानको मूल्य सस्तो हुने थियो ।”
ढोरपाटन नगरपालिका–९ का पूर्णबहादुर सुनारले काम नगर्ने निर्माण कम्पनीलाई राज्यले कारबाही गर्न नसक्दा आफूहरुले समस्या खेप्नु परेको बताए । बाह्रै महिना ढोरपाटन घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका भन्दै सडकका कारण दोस्रो पटक नआउने उनको भनाइ थियो ।
बुर्तिबाङदेखि ढोरपाटन देउरालीसम्मको सडक समयमा सम्पन्न भए स्थानीय र पर्यटकलाई सहज हुने सुनारले बताए । सडकका कारण ढोरपाटनमा उत्पादन भएका स्याउ र आलुको बजारीकरणमा समेत समस्या हुने गरेको उनको भनाइ थियो ।
“यो बाटो खुलेदेखि यहाँ धेरै पटक दुर्घटना भयो, बाटो साँघुरो छ, मान्छेलाई गाडी चड्नै पर्छ, यति ठूलो आयोजनामा किन सरकारले ध्यान नदिए होला ?, हामी धेरै मारमा परेका छौँ, सडक छेउमा रहेको घरमा हिउँदमा धुलो र बर्खामा हिलोले हैरानै बनाउँछ”, सुनारले भन्नुभयो, “धेरै किसानले ढोरपाटनमा आलु, स्याउ र सिमी उत्पादन गर्छन्, बजार ल्याउन बोकेर सकिदैन, गाडीमा ल्याउँदा मूल्यभन्दा बढी भाडा तिर्नुपर्ने हुन्छ । बाटो पिच हुन्थ्यो भने एक घण्टामै बुर्तिबाङदेखि ढोरपाटन पुगिन्थ्यो, भाडा पनि सस्तो हुन्थ्यो, बाहिरबाट घुम्न आउने पर्यटकलाई पनि सहज हुने थियो ।”
सडकले बागलुङको निसीखोला र बडिगाड गाउँपालिका तथा ढोरपाटन नगरपालिका गरी तीन पालिका जोडेको छ । बागलुङ बजारदेखि बुर्तिबाङसम्म मध्यपहाडी लोकमार्गको सडकले सहज बनाइ दिए पनि बुर्तिबाङदेखि ढोरपाटन खण्डमा यात्रा गर्न निकै कष्टकर हुने गरेको स्थानीयको भनाइ थियो ।
सरकारले सडक स्तरोन्नतिका लागि रकम विनियोजन गरेको आयोजनाका इञ्जिनियर आचार्यले बताए । गतवर्ष कार्तिकमा बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–९ फल्लेघरसम्म २२ किलोमिटर सडक स्तरोन्नतिका रू २३ करोडमा ३० महिनामा सक्ने गर्ने गरी सम्झौता भएको उनले जानकारी दिए ।
सडक चौडा गर्ने, नाली निर्माण गर्ने र ग्राभेलिङका लागि निर्माण कम्पनीलाई जिम्मा दिइएको आचार्यको भनाइ थियो । उनका अनुसार निर्माण कम्पनीले केही महिना काममा ढिलाइ गरे पनि अहिले तीव्रता दिइरहेको छ । सडकको ट्र्याक आर्थिक वर्ष २०७२÷७३ मा खुलेको उनले जानकारी दिए ।
निर्माण कम्पनीको म्याद अझै एक वर्षसम्म रहेको भन्दै नियमित काम गरे आगामी वर्षसम्म सम्पन्न हुने इञ्जिनियर आचार्यले बताए । निर्माण कम्पनीले पनि समयावधिभित्रै काम सक्ने प्रतिबद्धता जनाएको उनको भनाइ थियो ।
“हरेक वर्ष यस आयोजनाका लागि बजेट घटिरहेको छ । गत वर्ष रू ४० करोड विनियोजन भएकामा यसवर्ष रू १७ करोड मात्रै विनियोजन भएको छ । यति बजेटले कहाँ–कहाँ काम गर्ने ?, अप्ठ्यारा ठाउँमा सजिलो बनाउने काम भइरहेको छ,” इञ्जिनियर आचार्यले भने, “अहिलेसम्म २२ किलोमिटर सडक कालोपत्र भएको छ । बागलुङ खण्डमा भएको कालोपत्र मध्यपहाडी लोकमार्गले गरेको छ ।” लोकमार्ग र हाम्रो आयोजना एकै ठाउँमा पर्छ । उहाँले पाँच किलोमिटर कपिलवस्तु, १३ किलोमिटर अर्घाखाँची र चार किलोमिटर बागलुङमा कालोपत्र भएको जानकारी दिए ।
















4 die, 5 injured in firing incidents in Karachi
यस्ता छन् कोशी सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन
चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया