आइतबार, माघ २५, २०८२

बझाङमा ३ घन्टामा ६ पटक भूकम्पको धक्का

मेरोन्यूज २०८० असोज १६ गते १८:०३

काठमाडौं । बझाङमा आज तीन घण्टाको अन्तरालमा ६ पटक भुकम्पको धक्का महसुस् भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको जानकारी दिएको छ ।

त्यसअघि पहिलो पटक २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

‘३ बजेर ६ मिनेटको भुकम्पपछि ४ रेक्टरमाथिका ३–४ वटा परकम्प गएका छन्,’ केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, ‘४ रेक्टरभन्दा कमका त थुप्रै परकम्प गएका छन् ।’

केन्द्रले ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको जनाएको छ ।

भूकम्पविद्हरूका अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्छ । दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैं भुइँचालो जान सक्ने अधिक जोखिमको क्षेत्रमा छ । भुइँचालो नगएको क्षेत्रको भूगर्भमा शक्ति सञ्चित भएर बस्छ र कुनै पनि बेला ठूलो भूकम्प जाने खतरा हुन्छ ।

भूकम्पविद्हरूले मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन ।

२०७२ सालमा भूकम्प गएको गोरखा पश्चिमको क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने जोखिको क्षेत्रमा छ ।

प्रतिक्रिया