एनआरएनएका नातिनातिनासम्म पनि नेपाली नै हुन् : नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गैरआवासीय नेपालीका छोराछोरी र नातिनातिनासम्मले नेपाली नागरिककै हैसियत पाउने बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) द्वारा शनिबार आयोजित भर्चुअल अन्तरक्रियामा पुनले गैरआवासीय नेपालीका शाखा सन्तननहरुको हैसियत पनि नेपालीकै हुने बताएका हुन् ।
एनआरएनए र उनीहरुका सन्तानले राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग पाउने व्यवस्था संविधान र नागरिकता ऐनले स्पष्ट गरेकाले उनीहरु विदेशी हुन नसक्ने पुनको भनाइ थियो ।
‘अध्ययनको सिलसिला अवसरको खोजी वा अन्य बाध्यताले नेपालीहरु विभिन्न देशमा पुग्नुभएको छ । एकपटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको भावनात्मक नाराले हामी नेपालमा भएकाहरुको मन छुन्छ’, पुनले भने, ‘तपाईंहरुको नारामा पूर्ण सहमत हुँदै म भन्न चाहन्छु, एकपटकका नेपालीका छोराछोरी र नातिनातिनासम्म पनि नेपाली नै हुन् ।’
त्यही कारण धेरै लामो बहस र छलफलपछि संविधानमा गैरआवासीय नागरिकताको प्रावधान राखिएको स्मरण पुनले भने ।
‘संविधान लेखनका क्रममा हाम्रो बीचमा धेरै छलफल र बहसहरु भए’, उनले भने, ‘ अन्तिममा हामी विदेशमा रहेका नेपालीलाई गैरआवासीय नागरिकता दिनुपर्छ । राजनीतिक बाहेक बंशज वा अंगीकृत नागरिकले पाउने सबै अधिकार एनआरएनएहरुले पाउनुपर्ने भन्ने व्यवस्था हामीले गरेका छौं ।’
नेपाली नागरिकताको निरन्तरताबारे एनआरएनएले उठाउँदै आएको मागबारे राजनीतिक तहमा र संसदमा छलफल हुन सक्ने पुनको भनाइ थियो ।
एनआरएनएले पाउने भनिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे ऐन, नियमावली र कार्यविधिमा कुनै अस्पष्ट व्यवस्था भए परिमार्जनमार्फत व्यवहारिक बनाइनुपर्ने धारणा उनले राखे ।
एनआरएनएहरुले आफू रहँदै आएको मुलुकस्थित नेपाली दूतावास, बाणिज्य दूतावास वा अनलाइन प्रणालीमार्फत पनि एनआरएनए नागरिकताको आवेदन दिन सकिने लचिलो व्यवस्था राखिएकाले कार्यान्वयनमा जटिलता नआउने विश्वास पुनले व्यक्त गरे ।
अन्तरक्रियाका सहभागीको चिन्ता सम्बोधनका क्रममा पुनले यसअघि लिएको नेपाली नागरिकता वा नागरिकता नलिएको व्यक्तिका हकमा बाबुआमा, बाजेबज्यैसमेत खुल्ने गरी एनआरएनए नागरिकता वितरण हुने स्पष्ट गरे ।
पुनले संयुक्त राज्य अमेरिकासँग दोहोरो करसम्बन्धी सम्झौताको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र सम्वद्ध पक्षको आफूले ध्यानाकर्षण गराउने जानकारी पनि दिए । उनले नेपालमा रहेको पैत्रीक सम्पत्ति बेचबिखन गरेर नलैजान पनि सुझाए । त्यसो गर्दा आफ्नो पुख्र्यौली जरोसँग सम्बन्ध रहिरने र छोराछोरी वा नातिनातिनाहरु नेपाल फर्कने बाटो बन्द नहुने उनको भनाई थियो ।
नेपाल निर्माणमा स्वदेशमै रहेका नेपालीहरुको प्रयास मात्र पर्याप्त नहुने भन्दै पुनले आफ्नो मातृभूमिको जरोसँगको सम्बन्ध तोड्न नचाहने गैरआवासीय नेपाली मनोविज्ञानप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरे ।
विदेशमा आर्जित सिप, ज्ञान र पुँजी नेपालमा लगानी गर्न आग्रह गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सरकार नेतृत्वकर्ता दलको नेताका हैसियतले आफू जस्तोसुकै सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए । उने नेपालमा लगानी गरेर आर्जन गरेको मुनाफा बाहिर लैजान पाउने व्यवस्थाका लागि सरकार र आफूहरु सकारात्मक रहेको पनि बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एनआरएनए नागरिकतासम्बन्धी संविधान र ऐनको व्यवस्था व्यवहारिक र लचिलो रहेको बताए । उनले एनआरएनए नागरिकता प्राप्त गरेपछि त्यसअघि लिएको नागरिकता भने प्रयोग नगर्न सुझाए । उले एनआरएनए नागरिकता लिएपछि निर्धक्कसँग नेपालमा लगानी गरी मुनाफा कमाउन र सम्पत्ति किनबेच गर्न सकिने व्यवस्था रहेको जनाए ।
एनआरएनएका अध्यक्ष विनोद कुँवर, एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्साल, एसोसिएसन अफ नेप्लिज अमेरिकाका अध्यक्ष खगेन्द्र अधिकारी, उपाध्यक्ष क्रान्ति अर्याल भण्डारी, एनआरएनए अमेरिकाकी सचिव दाजिमा शेर्पा, एनआरएनएका सल्लाहार ऋषि शेर्पा, एनआरएनए अभियन्ता एवं अधिवक्ता केशवराज सेढाईं लगायतले एनआरएनए नागरिकता प्राप्तिको प्रक्रियाबारे प्रश्न सोधेका थिए ।
















Ukraine plans presidential elections, vote on peace deal with Russia: media
It is the responsibility of government to rein in corruption: PM Karki
फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो
राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक पारित
HoR polls: Over 15 million ballot papers printed for FPTP category
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
प्रतिक्रिया