बेमौसमी वर्षाले फापरखेती नष्ट

ढोरपाटन । सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो ।
वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले गुनासो पोखे। उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले फापर, सिलाम, तोरी, ठूलोकरेला लगाउने गरेको उनको भनाइ छ ।
उनका अनुसार यहाँ लगाएको सयौँ रोपनी क्षेत्रफलको फापर बालीमा असिनापानीले क्षति पुर्याएको छ । भर्खर दाना लाग्न लागेको फापर असिनाले झारिदिएपछि कृषक चिन्तित बनेका छन् । असिनाले तरकारीका बिरुवा ढलाइदिएको भन्दै फल लाग्न थालेका अन्य फलफूलमा पनि क्षति पुर्याएको बुढाथोकीले बताए ।
उनले भने, “गाउँमा धेरैजसो किसानले फापरखेती गर्ने गर्छन्, उत्पादन पनि राम्रो हुने गथ्र्यो, तर असिनाले सबै सखाप बनाइदियो, तरकारी पनि केही बाँकी राखेको छैन, बारीभरि तोरी, तकारी र फापर सबै भुइँभरि ढलेको छ, कात्तिकमा भित्र्याउने फापर कामै नलाग्ने भएको छ, अलिअलि लागेका गेडा पनि भुइँभरि झरेका छन्, तोरी भर्खर उम्रिएको थियो, त्यो पनि काम नलाग्ने बनेको छ ।”
हावाहुरीसहितको वर्षाले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट र निसीखोलाको विभिन्न स्थानमा लगाइएको धानबालीमा पनि क्षति पुर्याएको छ । बागलुङ नगरपालिका–३ खहरेमा पाक्न लागेको धानबाली ढलेर भुइँभरि भएको स्थानीय सरोज कार्कीले बताए । केही दिन अगाडि आएको हावाहुरीले केही ठाउँमा ढले पनि सोमबार साँझको पानीले ठूलो क्षति पुर्याएको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश सिलवालले यो बेलाको वर्षाले धान, कादो, भटमासलगायतका बालीमा क्षति पुर्याउने गरेको बताए । किसानले जिल्लाको विभिन्न स्थानबाट धान ढलेको गुनासो गरेको भन्दै क्षति भएको तथ्याङ्क लिएर राहतका लागि कृषि मन्त्रालयमा सिफारिस गर्ने जानकारी दिए । यो समय धानबाली भित्र्याउने भएको हुँदा किसानले मौसम हेरेरमात्रै धान काट्नुपर्ने प्रमुख सिलवालले बताए । यो याममा पानीमात्रै परे कुनै पनि बालीलाई क्षति नगर्ने जनाउँदै हावाहुरी र असिना परे खाद्यबाली, तरकारी र फलफूलमा क्षति पुर्याउने उनको भनाइ छ ।















झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया