सडक खुलेपछि सामान ढुवानी सहज

ढोरपाटन । निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएसँगै सामान ढुवानी गर्न सहज भएको छ । वर्षाका कारण अवरुद्ध भएका सडक निसीखोला गाउँपालिकाले यही साता सञ्चालनमा ल्याएको हो ।
असोज पहिलो साता नै सडक खुलाउने प्रयास गरे पनि निरन्तरको वर्षाका कारण काम हुन नसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । यस वर्ष ढिलासम्म वर्षा भइरहेकाले अवरुद्ध सडक खुलाउन ढिलाइ भएको उनको भनाइ थियो ।
ढिलै भए पनि सडक सञ्चालनमा आएपछि स्थानीयलाई सामान ढ्वानी गर्न सहज भएको छ । करिब चार महिनादेखि सडक अवरुद्ध भएर सामान ढुवानी गर्न नपाएका स्थानीय यतिबेला चटारोमा छन् । नजिकिएको चाडपर्व र महिनौँसम्म किनमेल गर्न नपाएका उनीहरुलाई सामान ओसारपसार गर्न भ्याइनभ्याइ छ । कतै खोलाका कारण त कतै पहिरोले सडक बगाउँदा यातायातका साधन ठप्प थिए भने पैदल यात्रा गर्न पनि समस्या थियो ।
निसीखोलाको प्रमुख व्यापारिक केन्द्र बुर्तिबाङ बजार हो । बजारदेखि राजकुट, देविस्थान, जुग्गाखोलालगायत निसी र भल्कोट हुँदै रोल्पा र पूर्वी रुकुममा साधान पुग्ने गर्छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा झरेको पहिरो तत्तकाल हटाएर यातायात सञ्चालन गरे पनि ग्रामीण सडक ठप्प थिए ।
अहिले सडक सञ्चालनमा आएपछि चाडबाडका लागि चाहिने सामान ल्याउन र टाढाटाढाबाट गाउँ आउनेलाई सहज भएको निसीखोला गाउँपालिका–२ का केशव क्षेत्रीले बताए । असारदेखि असोज दोस्रो सातासम्म गाउँमा गाडी नै चल्न नसकेको उनको भनाइ थियो । उनले चार दिनदेखि निरन्तर गाडी चल्न थालेको भन्दै लामो समयपछि पसलमा सामान ढुवानी गर्न पाएको सुनाए ।
“गाउँमा साना–साना किराना पसल छन् । बर्खाले गर्दा बजारबाट सामान ल्याउन सकिएको थिएन । केही दिन भयो बाटो खुलेर गाडी चलेका छन्”, क्षेत्रीले भने, “अहिले बल्ल सबै सामान ल्याउन थालेको छु । कच्चीबाटो बर्खा सुरु हुँदाबित्तिकै बन्द हुन्छ । खुल्नलाई हिउँद लाग्नुपर्छ ।”
निसीखोलाका अधिकांश गाउँ लोकमार्गसँग जोडिएका छन् । स्थानीय पुनम घर्तीमगरले गाउँको सडक निकै साँघुरो र अप्ठ्यारो रहेको भन्दै हिउँदमा जसोतसो गाडी चले पनि बर्खामा ठप्प हुने गरेको बताए । सडकले गाउँमा नजोडिँदा हिँडेरै बजार पुग्ने र सामान बोकेरै ल्याउने गरेको सुनाउँदै उहाँले सडक आएर पनि अहिले खोलामा पुल नबन्दा, पहिरोले सडक बगाउँदा पहिलेको जस्तै हिँड्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
“नुन, चामललगायत दैनिक उपभोग्य सामान ल्याउनुपरे घोडा खच्चडको प्रयोग गरेको भन्दै गाउँ सडकले जोडिएपछि घोडाखच्चड विस्थापित हुँदा मान्छेले नै बोक्नु परेको छ”, मगरले भने, “दसैँ आएपछि मात्रै गाउँपालिकाले सडक खुलाएको छ । अब सामान ल्याउन सहज हुने भएको छ ।”
गाउँपालिकाका सूचना अधिकारी गौतमले वर्षा रोकिएर खोलामा पानीको बहाव केही कम भएपछि पालिकाका सातवटै वडाका सडक खुलाइएको जानकारी दिए । उनका अनुसार नीति तथा कार्यक्रममै प्रत्येक वडामा बर्खाले बिगारेको सडक मर्मतसम्भार भनेर बजेट विनियोजन गरेको थियो । पानीले भत्काएको खाल्डाखुल्डी पुर्ने र पुरिएको सडकको पहिरो पन्छाउने काम गरेको गौतमले बताए ।
(((















झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया