उपेक्षा भएको द्वन्द्वपीडित महिलाको गुनासो

काठमाडौँ । सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका र मारिएका व्यक्तिका परिवारले राज्यबाट घोषणा भएका राहत, परिपूरण र पुनःस्थापनाका कार्यक्रमले सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् ।
मानवअधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) द्वारा आज आयोजित महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रस्ताव नं १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक छलफल कार्यक्रममा उनीहरूले राज्यको माथिल्लो तहमा रहेकाहरूले आफूहरूका माग र समस्याको सुनुवाइका लागि पटक–पटक धाउँदा पनि ध्यान नदिइएको बताएका हुन् ।
‘द्वन्द्वकालमा राज्य र विद्रोहीको युद्धमा हाम्रा परिवारका सदस्य मारिए । त्यसबेलाको विद्रोही पक्ष अहिले सरकारको नेतृत्वमा छ । हामी सिंहदरबारका मन्त्रालय र सुरक्षा निकायका मुख्यालयमा जाँदा प्रवेशद्वारबाटै अपमानपूर्वक फर्काइन्छ,’ द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघका कार्यक्रम संयोजक रणवीर लावतीले भने ।
कार्यक्रममा नुवाकोटकी विमला रिमालले युद्धकालमा आफ्ना पति नवराज रिजाल प्रहरीमा कार्यरत रहँदादेखि हालसम्म बेपत्ता रहेको र आफूले साना दुई सन्तानलाई काठमाडौँमा खलासीगरेर र पछि ट्याम्पु चलाएर हुर्काउँदा राज्य र समाजबाट कुनै सहयोग नपाएको अनुभव सुनाइन् । दोलखाकी जमुना कार्कीले युद्धकै क्रममा श्रीमान् मारिँदा लास बुझ्ने मान्छेसमेत नपाएको र त्यसयता सरकारले बनाएका कानुन र कार्यक्रममा आफूलाई समावेश नगरिएको पीडा सुनाइन् ।
पर्वतकी जुनुमाया श्रेष्ठलेश्रीमान् मारिएको स्थितिमा सरकारले प्रतिबद्धता गरेका सुविधा लिन जाँदा उल्टै पीडित हुनुपरेको बताइन् । अछामका धीरेन्द्र भण्डारीले द्वन्द्वकालका घाइते, अपाङ्गता, सहिद र बेपत्ता परिवारलाई उपचारलगायतको सुविधा दिन सरकारसँग राखिएका सात बुँदे मागको सम्बोधन नभएको बताइन् ।
कार्यक्रममा अधिवक्ता जीवन शर्माले द्वन्द्वबाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित हुने भएकाले सबै राष्ट्रमा मानवअधिकारको संरक्षण र शान्ति स्थापनाका लागि राष्ट्रसंघबाट पारित प्रस्तावको प्रगति विवरण सरकारले दिनुपर्ने उल्लेख गरे । नेपाल सरकारबाट पारित कार्ययोजना कार्यान्वयनका लागि नागरिक समाजबाट आवाज उठाइनुपर्ने उनको भनाइ थियो ।
एकल महिला व्यवस्थापक राजीन रायमाझीले सरकारबाट निर्मित दोस्रो कार्ययोजनालाई स्थानीयकरण गरी स्थानीय तहमार्फत राहत, परिपूरण र पुनःस्थापनाका लागि नागरिक समाज र सञ्चार क्षेत्रले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
















प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया