नेतृत्व लिन अग्रसर हुँदै छन् छात्रा

टीकापुर (कैलाली) । बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो । बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ । त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन् ।
कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार विद्यालयका अतिरिक्त क्रियाकलापमा बढीभन्दा बढी बालिकालाई सहभागी गराउने गरिएको छ । उनी बालिका पनि अतिरिक्त क्रियाकलापमा बालकभन्दा अगाडि रहेका बताउँछन् । “हामीले हरेक क्रियाकलापमा छोरीलाई प्राथमिकता दिन थालेका छौँ, यहाँ हुने हरेक क्रियाकलापमा बालिका विजयी भएका उदाहरण छन्”, उनले भने, “हाम्रो विद्यालयमा बाल क्लबको अध्यक्ष बालिका, विभिन्न सामूहिक कार्यमा छात्रा नेतृत्वमा छन् ।”
विद्यालयमा हुने बाल क्लब, कक्षा ‘मोनिटर’जस्ता कार्यमा पनि पछिल्लो समय बालिका अग्रसर हुँदैछन् । खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल विद्यालयले बालिकाको नेतृत्व विकासलाई प्राथमिकता दिएको, सामुदायिक विद्यालयमा बालिका बढी अध्ययनरत भएकाले बालिकाले पढाइको नतिजामा पनि नेतृत्व गरिरहेको बताउँछन् । “छात्र बोल्ने कलामा पनि छात्राभन्दा अगाडि छन्”, उनले भने, “आठ कक्षा र एसइई परीक्षामा पनि छात्राको नतिजा राम्रो छ । यसले पनि उनीहरू नेतृत्व गर्न सक्षम छन् भन्ने देखाउँछ ।”
सामुदायिक विद्यालयमा अध्ययन गर्नेमा पनि छात्राका धेरै छन् । विद्यालयले पनि छात्रालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रयास गरिरहेको देखिन्छ । हिमालय मावि घीया पुछरीका प्रधानाध्यापक बुद्धिराम चौधरी पनि छात्रा बढी अग्रसर हुँदै गरेका बताउँछन् । उनले भने, “विद्यालयमा छात्राको सङ्ख्या धेरै छ । अवसर पनि उनीहरूलाई दिने गरेका छौँ ।”
नेपाल शिक्षक महासङ्घ टीकापुरका सभापति रघुनाथ उपाध्याय पनि विद्यालयमा नेतृत्व गर्ने हरेक भूमिकामा छात्रालाई प्राथमिकता दिने र छात्राहरू छोराभन्दा अब्बल बन्दै गएका अनुभव आफूले गरेका बताउँछन् । “सामुदायिक विद्यालयमा छोरीलाई अगाडि बढाउने थुप्रै प्रयास भएका छन्”, उनले भने, “पालिकामा रहेका शिक्षा, स्वास्थ्य शाखाले पनि छोरीलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेका छन् ।”
नवदुर्गा आधारभूत विद्यालयका शिक्षिका सूर्या भट्टराई शिक्षकले पनि छात्राको हौसला बढाउने काम गर्नुपर्नेमा जोड दिन्छन् । “छात्रालाई घरको काम पनि गर्नुपर्ने भएकाले उनीहरूलाई शिक्षा र अन्य अवसरका लागि नेतृत्व दिँदा शिक्षक जिम्मेवार बन्नुपर्छ”, उनले भने, “विद्यालयमा पनि सकारात्मक विभेद आवश्यक छ ।”
टीकापुर नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सङ्गीता शाह छोरी जन्मेदेखि नै अभिभावकमा छोरी नेतृत्व सम्हाल्न सक्छिन् भन्ने सोचसहित हुर्काउनुपर्नेमा जोड दिन्छन् । ‘‘सशक्तीकरणका लागि छोरीलाई पनि तिमी जसरी पनि सक्षम हुनुपर्छ भनी उनीहरूको मनमा चाहना जगाइदिनुपर्छ”, उनले भने, “छात्रालाई मानसिकरूपमा पनि सक्षम बनाउने, उसलाई आर्थिकरूपमा पनि सक्षम बनाउनका लागि शिक्षामा पनि बढी लगानी आवश्यक छ ।”
छोराको तुलनामा छोरी बढी संवेदनशील हुन्छन् । अझ छोरीलाई घर तथा भान्साको काम, भाइबहिनी स्याहारजस्ता कार्यको बोझ पनि थुपारिन्छ । सामाजिक परिवेशले छोरालाई जति अगाडि बढ्न सहज वातावरण छोरीका लागि छैन । छोरी पनि समाज, राष्ट्रका नेतृत्वकर्ता हुन् भन्ने अभिभावक तथा समाजले सोच्न र त्यही खालको वातावरण बनाउन आवश्यक छ ।
















टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया