सभामुख घिमिरेले गुटेरेससँग भने : संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक पारित हुन्छ

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग सम्बन्धी विधेयक संसद्बाट चाँडै पारित हुने बताएका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा घिमिरेले दुवै विधेयक अहिले संसदीय समितिमा छलफलको क्रममा रहेको र छिट्टै पारित हुने बताएका हुन् ।
घिमिरेले नेपालको संक्रमणकालीन न्याय प्रकिया सन् २००६ मा सरकार र तत्कालीन विद्रोही पक्षबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडित पक्षहरुका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित हुने महासचिव गुटेरेसलाई जानकारी दिए ।
‘नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध छ,’ घिमिरेले भने‚ ‘दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । आशा छ हामी निकट समयमा नै ऐन निर्माण गर्नेछौं ।’
नेपालको शान्ति प्रक्रियालाई पूरा गर्न नेपालस्थित राष्ट्र संघीय मिसन (अनमिन)ले खेलेको मध्यस्थताको भूमिकाको पनि उनले गुटेरेससँग प्रशंसा गरेका थिए ।
नेपाल भ्रमणको क्रममा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न समयमा उपलब्ध गराएकोमा उनले गुटेरेसलाई धन्यवाद व्यक्त गरेका थिए ।
भेटमा महासचिव गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई राष्ट्रसंघ सहयोग गर्न तयार बताए ।
‘नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार छ । संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त गर्दछु,’ गुटेरेसले भने ।
घिमिरेले विधेयकमा उल्लेख गरिएका विषयबारे गुटेरेसलाई ब्रिफिङ गरेका थिए ।
त्यसअघि आइतबार नै गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन्।
गुटेरेस प्रधानमन्त्री दाहालको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आइतबार विहान आएका हुन्।
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया