तिहारका लागि विद्यालयमा फूल उत्पादन

धुलिखेल । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् ।
‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत फूल खेती गरिएको हो । विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार रु ३० हजार लगानीमा एक हजार पाँच सय बोट सयपत्री रोपिएका थिए जुन अहिले फूल फुलेर ढकमक्क भएको छ ।
“करिब दुई रोपनी जग्गामा फूल खेती गरेका छौँ”, उनले भने, “रु एक लाख ५० हजार आम्दानी हुने अनुमान छ ।” विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उनले बताए । त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ ।
विद्यालयले पहिलो पटक फूल खेती गरेको हो । आगामी वर्षदेखि फूल खेती विस्तार गरिने संयोजक अधिकारीको भनाइ छ । दसैँ तिहार बिदाका कारण रेखदेख गर्न कामदार राखेको उनले बताए । विद्यालयले विद्यार्थीलाई दैनिक दुई घण्टा उपार्जनको काममा अनिवार्य काम गर्नुपर्ने विद्यालयले नियम बनाएको छ । त्यसरी काम गरेबापत छात्राबासमा बस्ने विद्यार्थीका लागि खाने र बस्ने निःशुल्क व्यवस्था गरिएको संयोजक अधिकारीले बताए ।
“उत्पादन गरेको फूल बिक्रीको टुङ्गो लागिसकेको छ”, उनले भने ।
विद्यालयमा पाँच वर्षदेखि पशु विज्ञान विषयमा पठनपाठन गरिँदै आएको छ । विगत दुई वर्षदेखि ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत लागू गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई यसमा संलग्न गरिएको छ । विद्यालयले सुरु गरेको तरकारी खेतीदेखि धान खेती, कुखुरा र बाख्रापालनसँगै अहिले विद्यालयले दूध उत्पादन गर्ने गरी पशु विज्ञान प्रयोगशालाका लागि भवनसमेत निर्माण गरिसकेको छ ।
विद्यालयले १७ रोपनी जग्गामा खेती गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न मद्दत पुगेको बताए ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया