१८० दिन चलेको बर्खे अधिवेशनमा के-के काम भए प्रतिनिधि सभा र राष्ट्रिय सभामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु बर्खे अधिवेशन अन्त्य गरेका छन्। उनले बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन्। त्यसको जानकारी बिहीबार बसेको संसद् बैठकलाई गराइएको छ।
२०८० साल वैशाख २४ गतेदेखि आरम्भ भएको अधिवेशन १८० दिनसम्म चल्यो । यस अवधिमा ६१ दिनमा प्रतिनिधि सभाका ६५ पटक बैठक बसे । जम्मा २४४ घण्टा ५० मिनेट ससंदीय काम कारबाहीमा व्यतित भएको थियो।
राष्ट्रिय सभातर्फ भने ३९ दिनहरूमा ४८ वटा बैठक बसी ७१ घण्टा ११ मिनेट समय व्यतित भएको थियो। यस अवधिमा संघीय संसद्को संयुक्त सदनको जम्मा ६ वटा बैठक बसी ७ घण्टा ५ मिनेट समय व्यतित भएको थियो।
प्रतिनिधि सभाको यस अधिवेशनमा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको थियो, जसमध्ये ३ वटा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएका छन् भने ३ वटा विधेयक समितिमा विचाराधीन रहेका छन्। त्यस्तै, २ वटा विधेयक सभामा प्रस्तुत मात्र भएका छन् भने एउटा विधेयक दर्ता मात्रको स्थितिमा रहेको छ।
साथै प्रतिनिधि सभाको पहिलो अधिवेशन दर्ता भई सम्बन्धित समितिमा विचाराधीन ३ वटा विधेयकहरु मध्ये ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस भएको छ।
राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्राप्त ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ सभाबाट पारित भइसकेको छ भने ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धित समितिमा विचाराधीन रहेको छ।
सभाको पहिलो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ७ वटा विधेयकहरु सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन्। यसरी सभाबाट आर्थिक विधेयक, २०८०, विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० र मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० गरी कूल ४ वटा विधेयक पारित भएका छन्।
नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १४ गते बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरे ।
राष्ट्रिय सभामा अधिवेशनमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० स्वीकृत भयो । अध्यादेशलाई प्रतिस्थापन गर्न राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ दुवै सभाबाट पारित भई प्रमाणीकरण समेत भएको छ।
अधिवेशनमा विनियोजित विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० दुवै सभाबाट पारित भई प्रमाणीकरण भएका छन्।
विधायन सम्बन्धी विधेयक, २०८० र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ। सभाको एघारौं अधिवेशन अवधिमा दर्ता भएको कोभिड( १९ संकट व्यवस्थापन विधेयक, २०७८ यसै अधिवेशन अवधिमा फिर्ता भएको छ।
यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भएका नेपाल विश्वविद्यालय विधेयक, २०८० र गैरसरकारी विधेयकको रुपमा दर्ता भएको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० सभाले पारित गरी सन्देशसहित प्रतिनिधि सभामा पठाइएको छ। बिहीबार मात्रै पारित भएको विद्युतीय विधेयक, २०८० को सन्देशसमेत प्रतिनिधि सभामा पठाइएको छ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया