शनिबार, माघ २४, २०८२

टिकटक बन्दको निर्णयमा विश्वप्रकाशको टिप्पणी : प्रश्नको मुहान बन्द गरेर जवाफ खोज्न सकिन्न

मेरोन्यूज २०८० कार्तिक २७ गते १६:४७

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्ञजालमार्फत उनले टिकट बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता लिन समेत आग्रह गरेका छन्।

टिकटक दुरुपयोग गरेकालाई निरुत्साहित र नियन्त्रणको कडा विधि बनाउनपर्ने भन्दै प्रश्नको मुहान बन्द गरेर सहि जवाफ खोज्न नसकिने उनले बताएका छन्।

शर्माले लेखेका छन्, ‘आज टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रीयो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने ?’

सत्तारुढ दल कांग्रेसका सांसद समेत रहेका उनले सरकारको निर्णयपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई कडा प्रश्नसमेत गरेका छन्।

उनले भनेका छन्, ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने प्रधानमन्त्रीज्यू ?’, प्रश्न गर्दै शर्माले लेखेका छन्।

उनले निर्णय फिर्ताको माग गरेका हुन्।

‘सामाजिक९धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको शुसासनले हुने हो। सामाजिक संजाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं। तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं,’ उनले लेखेका छन्।

कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि सरकारको यो कदमप्रति आपत्ति जनाउँदै सच्याउन माग गरेका छन्।

प्रतिक्रिया