शनिबार, चैत २८, २०८२

मुलुकमा आर्थिक सङ्कट न्यूनीकरण हुँदैछ : मन्त्री ज्वाला

मेरोन्यूज २०८० मंसिर १६ गते १५:०९

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकमा आर्थिक सङ्कट न्यूनीकरण हुँदै गएको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घको १४औँ वार्षिक साधारणसभामा उनले जनताको आर्थिक अवस्था सुधार गर्न उत्पादन तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्री ज्वालाले मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी जनतालाई आर्थिक–सामाजिक अधिकार प्रदान गर्न सकिने भन्दै जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिए । सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न विश्व परिवेशमा प्रयोग भएको समाजवादी व्यवस्थाले आर्थिक, वर्गीय, लैङ्गिक शोषण अन्त गर्न सक्ने उनको भनाइ थियो ।

मन्त्री ज्वालाले समाजवादमा शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षालगायत विषयलाई सर्वसाधारण नागरिकको पहुँचमा पु¥याउने विशेषता हुने भएकाले पत्रकारले पनि समाजवादी तथा ग्रामीण विकासका क्षेत्रलाई महत्त्व दिएर समाचार लेख्नुपर्ने सुझाव दिए । स्थानीय तथा पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा सरकारले लगानी वृद्धि गरेकाले पूँजीगत खर्च बढेको उनले बताए । यसले अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने उनको विश्वास थियो ।

मन्त्री ज्वालाले देशमा विप्रेषण सङ्कलन बढेको, ब्याजदर घट्दै गएकाले आर्थिक सङ्कट न्यूनीकरण भई अर्थतन्त्र सामान्य लयमा फर्कन लागेको जानकारी दिए । उनले मुलुकमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलनको गृहकार्य तथा तयारी सुरु भएको जानकारी दिए ।
सो अवसरमा आर्थिक क्षेत्रमा उत्कृष्ट समाचार लेखेका पत्रकारलाई पुरस्कृतसमेत गरिएको थियो ।

प्रतिक्रिया