मंगलबार, माघ २७, २०८२

रुकुम सोती घटना : आजदेखि जिल्ला अदालतमा निरन्तर सुनुवाइ

मेरोन्यूज २०८० मंसिर १७ गते १२:३८

काठमाडौं । तीन वर्षअघि रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ हुँदै छ ।

रुकुम पश्चिम जिल्ला अदालतमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने जनाइएको छ।

आइतबार सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस थालेका हुन् ।

१० जेठ २०७७ मा जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए। दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराजसहित उनका साथीलाई लेखेटेर मारेका थिए।

उक्त घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए। मृतकहरुको शव भेरी नदीमा भेटिएको थियो।

सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन गरिएको थियो । सो समितिले सोती घटना नियोजित भएको निष्कर्ष निकालेको थियो ।

अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । घटनामा संलग्न २३ जना प्रतिवादी थुनामा छन् । ११ जनालाई भने तारेखमा छाडिएको थियो ।

प्रतिक्रिया