आइतबार, वैशाख २७, २०८३

एमालेको मध्यपहाडी लोकमार्ग अभियान अब समापनतिर

मेरोन्यूज २०८० मंसिर २८ गते ८:४९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान अब समापनतिर जान थालेको छ । १९ दिनको कार्यक्रम बनाएर सुरु गरिएको यो अभियानको आज १६ औं दिन हो ।

Advertisement
NiccNicc

अब अभियानका क्रममा २७१ किलोमिटर मात्र यात्रा गर्न बाँकी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गका जनताको समस्याको पहिचान गरी समाधान उपाय खोज्न नेकपा एमालले मंसिर १४ गतेबाट अभियान सुरु गरेको थियो ।

उसले यसलाई आगामी चुनावको तयारीका रुपमा समेत लिएको छ । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको नामबाट नामाकारण गरिएको पुष्पलाल राजमार्गको यात्रा अब तीन् दिन मात्र बाँकी छ ।

यात्राको १६ औं दिनमा आज एमाले अध्यक्ष केपी ओलीसहितको यात्रा टोली भोजपुर बजारबाट प्रस्थान गरेर धनकुटाको लेगुवा हुँदै पाख्रिबासमा खाना खाने र हिले सिंधुवाका जनतासँग साक्षात्कार गर्दैै लालिगुराँसको राजधानीको रुपमा रहेको लालिगुराँस नगरपालिकाको बसन्तपुरमा बास बस्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

तेह्रथुम अध्यक्ष केपी शर्मा ओलीको जन्म जिल्ला पनि हो । त्यसैगरी बसन्तपुर पुष्पलाल राजमार्गमा पर्ने १० वटा नमुना सहर मध्ये एउटा सहर हो । त्यती मात्र होइन बसन्तपुर आसपासको क्षेत्र तीनजुरे मिल्के र जलजलेमा २४ प्रजातीका गुराँस पाइने ठाउँ पनि हो ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार भोली बसन्तपुरबाट म्याङलुङ हुँदै तेह्रथुमका भित्रि गाउँको बाटो भएर अध्यक्ष ओलीको जन्मस्थान आठराई गाउँपालिका पुगिनेछ । आठराईमा अध्यक्ष ओली कै घर र आसपासमा बस्ने तयारी टोलीको छ । भोलीको यात्रा ९४ किलोमिटर मात्र हुनेछ ।
मंसिर ३० गते पाँचथरको फिदिममा बसेर पुष १ गते पुष्पलाल राजमार्गको पूर्वी विन्दु चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ । यहाँ पनि झुलाघाटमा जस्तै अध्यक्ष ओलीले राष्ट्रिय झण्ड गाडेर यात्राको समापन गर्ने गौतमले जानकारी दिए ।

एमालेले हालसम्म मध्यपहाडी लोकमार्गको १ हजार ६०८ किलोमिटर लामो यात्रा पार गरेको छ ।

प्रतिक्रिया