शनिबार, वैशाख २६, २०८३

बालकृष्ण खाण छुटेपछि अदालतप्रति ओलीको आक्रोश

‘कांग्रेस भयो भने छुट्छ, एमालेमा लागेको छ भने रिसले कोही मान्छे छुट्दैन’

मेरोन्यूज २०८० मंसिर ३० गते २०:५२

फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण जेलमुक्त भएपछि अदालतप्रति आक्रोश पोखेका छन् ।

Advertisement
NiccNicc

खाणसँगै थुनामा परेका आफना पार्टीका नेता टोपबहादुर रायमाझी थुनामै रहने तर कांग्रेस नेता खाण रिहा हुने अदालतको आदेशमा ओलीले पहिलो पटक असन्तुष्टि जनाउँदै अदालतप्रति आक्रोश पेखेका हुन् ।

यद्यपी उनले थमन विक हत्याकाण्डमा आरोपी भएका एमाले सांसद लक्ष्मी कोइरीलाई अदालतले दिएको सफाईमा भने न्याय मिलेको बताएका छन् । आफना नेतालाई अदालतले निर्दाेष ठहराएकोमा न्याय मिलेको बताएका ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपवहादुरलाई थुनामै राख्ने र बालकृष्ण खाणलाई साधारण तारेखमा धरौटीमा छोडन् फैसलामा असन्तुष्टि पोखेका हुन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको १७ औं दिन शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेता खाणको नाम नलिई उनी कांग्रेस भएकै कारण छुटेको टिप्पणी गरेका हुन् ।

रायमाझीको पनि नाम नलिएका ओलीले उनी चाहिँ एमाले भएकै कारण जेलमै रहेको बताएका हुन्।

‘हाम्रो कोही साथीहरूलाई जेलमा राखिएको छ। कांग्रेस भयो भने छुट्छ, कांग्रेस भयो भने त्यही विषयको मन्त्री भए पनि छुट्छ। तर, एमालेमा लागेको छ भने, रिसले कोही मान्छे छुट्दैन। यस्तै छ।’ ओलीले अदालतको फैसलामा असन्तुष्टि पोख्दै भने ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए। खाण शुक्रबार छुटेका छन्।

यद्यपि सोही दिन अदालतबाट सफाइ पाएका एमाले सांसद लक्ष्मी कोइरीबारे भने ओलीले ‘बल्ल सफाइ पाएको’ बताएका थिए।

‘अहिले एमालेको एकल सरकार बन्ने अवस्था छैन। हामी प्रमुख पार्टी पनि भएनौं,’ ओलीले कोइरीतिर लक्षित गर्दै भने, ‘२३ ठाउँमा कांग्रेसले बुथ कब्जा गरेर हाम्रा सिटहरू लुटेर लिएको छ। अनेक मुद्दा लगाएर एक जना साथीले अस्तिका दिन मात्रै बल्ल सफाइ पाउनुभयो।’

बिहीबार महोत्तरी जिल्ला अदालतले असई थमन विकको हत्यामा संलग्न रहेका सात जनालाई जन्मकैदको फैसला गरेको थियो। अदालतले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई भने सफाइ दिएको थियो। ओलीले कोइरीको नाम नलिई ‘एक जना साथीले सफाइ पाएको’ भनेर प्रसन्नता प्रकट गरे।

अदालतमा राजनीतिक नियुक्ति भएकै कारण इन्साफ नहुने अवस्था आएको ओलीको भनाइ थियो।

‘कांग्रेसको कानुनी फाँटको नेता न्यायाधीश नियुक्ति हुन्छ अनि इन्साफ कहाँबाट हुन्छरु राजनीतिक नियुक्ति हुन्छ अनि इन्साफ कहाँबाट हुन्छ ?,’ ओलीले भने, ‘हामीले लडाइँ गरेर, बलिदान गरेर, दुःख कष्ट गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र यसको सही प्रयोगको पक्षमा हामी छौं।’

प्रतिक्रिया