शनिबार, वैशाख २६, २०८३

सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की

मेरोन्यूज २०८० पुष २ गते १३:५१

सुन्दरहरैँचा (मोरङ) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् ।

Advertisement
NiccNicc

राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाउनुभएको हो । प्रदेश सरकार मातहतका अस्पतालमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकमार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेर अभिभावकको भूमिका निर्वाह गरेको पनि सो अवसरमा बताएका थिए । उनले दोभाषेको पेसागत सीप विकासका लागि सरकारले काम गर्ने उल्लेख गर्दै आवश्यक नीति नियम बनाउँदा महासङ्घलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेकामा जोड दिए ।

अब प्रदेशमै उद्योग दर्ता
यसैबीच मुख्यमन्त्री कार्कीले उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौँको झन्झट बेहोर्नु नपर्ने र अब कोशी प्रदेशमै दर्ता खोलिने बताए ।

कोशी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षात्मक गोष्ठीमा उहाँले एक हप्ताको समय भित्रै कोशी प्रदेशमै उद्योग दर्ताका लागि व्यवस्था मिलाइने बताए । “अब उद्योग दर्ताका लागि काठमाडौँको झन्झट बेहोर्नु पर्ने अवस्था हुँदैन”, उनले भने, “हातहतियार सम्बन्धी विषेश उद्योग बाहेक अरू उद्योग अब प्रदेशमा दर्ता हुन्छन् ।”

सरकार र निजीक्षेत्र एक सिक्काका दुई पाङ्ग्रा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई निजी क्षेत्रमैत्री बनाइने बताए । उनले भोकमरीबाट पीडित नागरिकलाई आत्मनिर्भर बनाउने अभियानको थालनी चाँडै गर्ने जनाउँदै जनतालाई परनिर्भतामा भन्दा आत्मनिर्भरतामा जोड दिइने उल्लेख गरे ।

उनले सरकारले व्यवसायको प्रवद्वर्नका लागि अब अनुदानभन्दा पनि सापटी उपलब्ध गराइने बताए । उनले भने, “के–केमा अनुदान छ त्यो हेरेर त्यसैतर्फ लाग्ने अनुदान पाएपछि छाडेर हिँड्ने अवस्था आयो, अब हामी त्यसो होइन मानिसलाई उद्यमी बनाउनका लागि सापटीको व्यवस्था गर्छौँ ।”

प्रतिक्रिया