बाँकेको मुस्लिम मजारमा हिन्दुको मेला

बाँके । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला सुरु भएको छ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन् ।
कम्मर शाह बाबा मेलामा सबै धर्ममा आस्था राख्ने सर्वसाधारणले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्व रहेको डुडुवा गाउँपालिका–५का वडाध्यक्ष झङ्कबहादुर थापको भनाइ छ ।
उनका अनुसार चार दिनसम्म सञ्चालन हुने मेलामा हिन्दू, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकाङ्क्षा राख्ने गरेका छन् । यहाँ राखेको मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
मेलामा बाँके र बर्दियाका सर्वसाधारण सँगसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत भारतीय नागरिक मेला भर्न आउने गरेको स्थानीय अगुवा राजेन्द्र विश्वकर्माले बताए। सामाजिक सद्भाव र आपसी एकताका लागि पनि हजरत बाबा कम्मर शाह मेला महत्वपूर्ण रहेको उनको भनाइ छ । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमापर्ने हजरत कम्मर शाह बाबा मजार हिन्दू र मुस्लिम समुदायको आस्था र सद्भावको धरोहरको रुपमा छ ।
डुडुवा गाउँपालिका–५ मा हिन्दू र मुस्लिम धर्मावलम्बीको बसोबास छ । कम्मर शाह बाबाले सयौँ वर्ष पहिले उक्त स्थानमा कुटी बनाएर बसेको र कम्दीलगायतका गाउँबाट गाईभैँसी चराउन आउने यादव समुदायका मानिससँग घुलमिल हुँदै गएको स्थानीय अगुवा शकील अहमद खाँले बताए । यादवहरूको परिवारमध्ये कसैलाई स्वास्थ्य समस्या देखिँदा कम्मर शाह बाबाकै शरणमा जाँदा सबै समस्या निको हुने गरेको उनीहरूको विश्वास छ ।
कम्मर शाह बाबाको मजारमा पनि मुस्लिम, यादवलगायत विभिन्न समुदायका मानिसले प्रत्येक वर्ष च्यादर ओढाउने, भाकल गर्ने लगायतका कार्य गर्दै आएको स्थानीयवासी खाँको भनाइ छ ।
मेलाको उद्घाटनमा पूर्वमन्त्री मोहम्मद इस्तेयाक राई, लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवलगायतले हजरत बाबा कम्मर शाह मेलाको महत्वबारे चर्चा गरेका थिए । मेलामा यो वर्ष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको मेला समिति अध्यक्ष सगीर खानले जानकारी दिए । उनका अनुसारनवदुर्गा युवा क्लबले मेलामा आजदेखि डुडुवा गाउँपालिकास्तरीय नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिता गर्न लागेको हो ।
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया