बिहीबार, माघ २९, २०८२

राप्ती बस दुर्घटना : मृतक सबैको सनाखत

मेरोन्यूज २०८० पुष २८ गते २१:२७


तुलसीपुर (दाङ) । गए राति साढे १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको प्रहरीको भनाइ छ ।

मृत्यु हुनेमा बाँकेका चारजना, भारतीय नागरिक तीनजना, रुकुमपश्चिम, चितवन, मकवानपुर, काठमाडौँ र जुम्लाका एक–एकजना छन् । दुर्घटनामा परी बाँके खजुरा गाउँपालिका–३ का सञ्जय केसी, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, बाँके कोहलपुर–८ का २८ वर्षीय अर्पण थापाका छन् ।

त्यस्तै रुकुम साविक गोतमकोट गाउँपालिका–९ का २५ वर्षीय दीपक कामी, चितवन भरतपुर नगरपालिका–२५ का ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँ चन्द्रगिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारतजी बहराइज नानपारा बग्लु भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र भारत उत्तर प्रदेशका ३१ वर्षीया मुनेको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी २१ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये १० जनाको शव परीक्षण भइसकेको छ भने दुई जनाका आफन्त नआएकाले शव परीक्षण हुनसकेको छैन । शवलाई लमही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परी २४ जना घाइते भएका थिए । घाइतेमध्ये चारजना गम्भीर, ११ जना मध्यम र नौजनाका अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घाइतेमध्ये तीनजनाको उपचारपछि डिस्चार्ज भइसकेको छ । घाइतेमध्ये आठ जनाको बुटवल र १३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया