बाहुनीडाँडा स्वास्थ्य चौकीको भवन निर्माण

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ ।
विसं २०७८ फागुनमै बनिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो ।
निर्माण कम्पनीले विसं २०७८ फागुन २७ सम्ममा सम्पन्न गर्नेगरी विसं २०७७ मङ्सिर ११ गते सम्झौता गरेको थियो । पटकपटक थप गरेको म्याद गुजारेका कम्पनीले यही माघ ४ गते स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न गरेको हो । भवन शनिबार नगरप्रमुख विमला राईले उद्घाटन गरेका छन् ।
स्वास्थ्य चौकीको नयाँ भवन बनेसँगै आजदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले जानकारी दिए । “आफ्नै भवन अभावमा स्वास्थ्य चौकीलाई हाल स्थानीय झोक्रे राईको घरका दुईवटा कोठा भाडामा लिएर सञ्चालनको व्यवस्था मिलाइएको छ । स्वास्थ्य चौकीको भाडाको कोठा साँघुरो छ”, उनले भने, “कोठामा बल्लतल्ल दुईवटा मात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता छ । यी सम्पूर्ण समस्यालाई मध्यनजर गर्दै आजदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको हो ।”
भाडाको घरमा राख्नुअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदै आएको थियो । गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्य चौकीलाई विसं २०७९ माघदेखि मासिक रु पाँच हजार भाडा दिएर व्यक्तिको घरमा सारिएको थियो ।
बर्थिङ सेन्टर (प्रसूतिगृह)लाई विसं २०७५ देखि मासिक रु चार हजारमा स्थानीय उषा राईको घरमा राखिएको छ । साउदी सरकारको सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको राखाबाङ्देल, बाहुनीडाँडा, दोर्पाचिउरीडाँडा, मङ्गलटार र बतासे स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु गरिएको थियो ।
निर्माण कम्पनीले रु सात करोड ४० लाख ८४ हजार दुई सय ९६ लगानीमा पाँच स्वास्थ्य चौकीको भवन निर्माणको ठेक्का लिएको थियो । हालसम्म पाँचवटै भवनको कामले पूर्णता पाउन नसकेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्य चौकी भवन निर्माण अहिलेसम्म सम्पन्न भएको छैन ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया