आमाले कलेजोको टुक्रा दिएर बचाइन् ३ वर्षका छोरा

भक्तपुर । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन् भन्ने पुस्तौँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छन् ।
कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । उनको नेतृत्वमा चिकित्सकसहितको ५० जनाको टोलीले निरन्तर १४ घण्टाको शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरेको हो ।
कलेजो झिकेको छ दिनमा आमा र नौ दिनपछि छोरालाई ‘डिस्चार्ज’ गरिएको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए। हाल बालक र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा श्रेष्ठको भनाइ छ । “यति सानो बालकको शरीरमा कलेजो प्रत्यारोपण भएको केन्द्रमा यो नै पहिलो पटक हो । चिकित्सा विज्ञानमा कलेजको प्रत्यारोपण सबैभन्दा जटिल प्रत्यारोपणका रुपमा मानिन्छ”, उनले भने।
बालकमा कलेजो प्रत्यारोपणका लागि केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक जनशक्ति, पाटन अस्पतालका बालरोग विशेषज्ञ डा पूजा अमात्यलगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल र डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको सहायता लिइएको उनले बताए।
दाताको काटिएको कलेजो तीन महिनामै ९० प्रतिशतसम्म वृद्धि हुने र दातामा कुनै समस्या नआउने डा श्रेष्ठको भनाइ छ । रिसब बुबा रूपक र आमा सीता भट्टका एक्ला छोरा हुन् । रिसवलाई सुरुमा बान्ता हुने, वाकवाकी लाग्ने, खाना अपच हुने जस्ता समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । त्यहाँ जाँच गर्दा उनको कलेजोमा क्यान्सर पहिचान भएपछि कीमोथेरापी दिइएको थियो ।
आमा सीताका अनुसार क्यान्सर रोगको पहिचान भएपछि बालकलाई उपचारका लागि भारतका दिल्लीमा लगिएको थियो । तर भारतमा उपचार गर्दा धेरै खर्च भएपछि आफन्त र एक चिकित्सकमार्फत भक्तपुरको प्रत्यारोपण केन्द्रमा ल्याएर बालकमा कलेजो प्रत्यारोपण गरिएको हो ।
सीताले भनिन्, “क्यान्सर रोग पहिचान भएपछि उपचार गरी पूर्ण निको हुन्छ भन्ने लागेको थिएन, तर यो अस्पतालमा आएपछि मैले कलेजो काटेर दिएँ र छोराले नयाँ जीवन पाउन सक्यो ।”









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया