सोमबार, चैत २, २०८२

रक्तदाता मैनालीद्वारा २ सय ६ पटक रक्तदान

मेरोन्यूज २०८० माघ २२ गते १४:५२

नारायणगढ (चितवन) । विश्वरक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

ब्लड डानर्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उनले दुई सय छ पटक रक्तदान गरेका हुन् ।

मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै आएको बताए । उनका अनुसार उनले विश्वका विभिन्न देशहरुमा एक सय ३४ पटक रगत र ७२ पटक रक्ततत्व प्लेलेट्स दान गरेका छन् । उनले भने, “मैले विश्वका छवटै महादेशका २० देशमा दुई सय छ पटक रक्तदान गरेको छु, मेरो आफ्नै रगतले मात्रै छ सय १८ जनाको ज्यान बचाउन सहयोग हुन्छ ।”

उनले सन् १९८६ मा काठमाडाँैमा प्रमाणपत्र अध्ययन गर्दा जो थोमसको ‘द ब्लड डोनर’ कथा पढेपछि रक्तदान गर्न प्रभावित भएको बताए । उन्नाइस वर्षको हुँदादेखि रगत दान गर्दै आएका मैनालीले ५६ वर्ष लाग्दै गर्दा दुई सय छ पटक रक्तदान गरिसकेका छन् । उनले भने, “पहिलो पटक रक्तदान गरिसकेपछि काठमाडौँको प्रदर्शनीमार्गस्थित रक्तसञ्चार केन्द्रबाट आफ्नो रगत ओ पोजेटिभ समूह भएको थाहा पाएँ, आजसम्म दान गरेको रगतको परिणाम जोड्दा एक सय दुई लिटर हुन आउँछ ।”

रक्तदानबारे उत्प्रेरणा जगाउने तथा रक्तदान कार्यक्रमको संयोजन गर्ने विभिन्न संस्थामा आबद्घ मैनाली हाल अमेरिका बस्दै आएका छन् । मैनालीको जन्मस्थान काभ्रेपलाञ्चोकको सिपाली हो । उनले विश्वका विभिन्न देशमा पुगेर रक्तदान गर्न उत्प्रेरणा जगाउने अभियान चलाउँदै आएका छन् ।

प्रतिक्रिया