धरानमा निर्माणाधीन बसपार्क अन्तिम चरणमा

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तिय प्रगति भएको छ ।
बसपार्कको अनुगमन गर्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले बसपार्कको करिब ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र धरान उपमहानगपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको थियो ।
रू ३३ करोड ७० लाख ४७ हजार तीन सय ३७ लागत अनुमान गरिएको बसपार्क आयोजनाको बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरीले रू २३ करोड १५ लाख तीन हजार दुई सय ७७ मा ठेक्का सम्झौता गरेको थियो । तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ असार ३० सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ ।
हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारको काम भइरहेको छ । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङ लगाउने काम भइरहेको कम्पनीले जनाएको छ ।
आयोजनाअन्तर्गत बेसमेन्ट पार्किङसहितको तीनतले टर्मिनल भवन बनिसकेको उपप्रमुख बेघाले बताउनुभयो । उहाँका अनुसार बसपार्क सञ्चालन हुन थालेपछि एकैपटक ३७ बस र २६ जिपको क्षमता रहेको छ ।
उक्त भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ६० अटो तथा केही कार र जिप राख्न सकिन्छ भने विद्युतीय जेनेरेटर तथा अन्य स्टोरसम्बन्धी समान राख्न सकिने ठेकेदार कम्पनीका इञ्जिनियर सरोजकुमार यादवले बताए । उनका अनुसार भुइँ तलामा करिब तीन सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट, यात्रु ओर्लने तथा चढ्ने २२ वटा अटो रहने छन् ।
भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ कोठा रहेका छन् । बसपार्कको अधिकांश काम सम्पन्न भइसकेको भन्दै अहिले फिनिसिङको काम धमाधम भइरहेको ठेकेदार सपनकुमार दासले बताउनुभयो । तीन महिनाभित्र सम्र्पूण काम सकेर भवन हस्तान्तरण गरिने योजना रहेको उनले जानकारी दिए ।
धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भएको गुनासो आएपछि उपमहानगरले अत्याधुनिक भवन निर्माण थालेको उपप्रमुख बेघाले बताए । “बसपार्कको अनुगमन गर्दा धेरै काम सम्पन्न भइसकेको भेटेका छौँ । अहिले अन्तिम चरणका काम भइरहेका छन्”, उनले भने, “चाँडै यहाँको बसपार्कसम्बन्धी विद्यमान समस्या समाधान हुनेछ ।”
















सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया