नेपालमा व्याण्डविथ प्लेटफर्मको सम्भावना अध्ययन गर्न समिति गठन गर्दै मन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् ।
नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को संभावना अध्ययनका लागि समिति गठन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्दै उनले पदभार ग्रहण गरेकी हुन् । उनले पहिलो निर्णयमा हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गरेकी हुन् ।
पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले एक वर्षको बीचमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको उत्खनन् गरेर जग बसाल्ने काम सम्पन्न भएकाले अब यस क्षेत्रको पुनःसंरचनामा ध्यान केन्द्रित गर्ने बताईन् ।
मन्त्रालयका काम सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षासहित जिम्मेवारी दिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आभार व्यक्त गर्दै मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको लक्ष्यलाई आफ्नो मन्त्रालयको तर्फबाट पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘अब हामीलाई कुनै पनि बहानामा काम नगर्ने छूट छैन’– मन्त्री शर्माले भनिन्– ‘म सम्पूर्ण जिम्मेवार अधिकारी र निकायहरुलाई यो अवसरमा विशेष निर्देशन दिन चाहन्छु।’
यसअघि शर्माले विसं २०७९ माघ ३ गतेदेखि विसं २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिईन् । उनले विसं २०७२ कार्तिक १ गतेदेखि २०७३ असार २८ गतेसम्म सामान्य प्रशासन मन्त्रीको रुपमा भूमिका निर्वाह गरेकी थिईन् ।
विसं २०७९ मंसिर ४ गतेको निर्वाचनबाट शर्मा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिईन् । उनी समानुपातिक प्रणालीबाट विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्।
विसं २०२६ असोज ९ गते दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिएकी शर्माले विसं २०४२ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी थिईन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको इकाई समितिबाट राजनीति सुरु गर्नुभएका शर्माले विसं २०४७ मा अखिलको जिल्ला उपाध्यक्ष, विसं २०४८ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को दाङ अध्यक्ष, विसं २०५० मा महिला संगठनको केन्द्रीय सदस्य, विसं २०५१ मा वाइसिएल केन्द्रीय सदस्य, विसं २०५३ सालदेखि विसं २०५८ सालसम्म अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरेकी थिईन्् ।
विसं २०५७ मा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेकी शर्मा काठमाडौँ उपत्यका उपब्यूरोको इन्चार्जको भूमिकामा रहेको बेलामा विसं २०५८ चैतमा पार्टी केन्द्रीय सदस्य रहेका श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेकी थिईन्। तत्कालीन शाही नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा लामो कष्टकर यातनापछि सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ साल चैत ३१ गते दुवैजना जेलमुक्त भएका थिए । लामो जेल जीवनपछि पुनः राजनीतिमा सक्रिय शर्मा हाल नेकपा माओवादी केन्द्रमा स्थायी समिति सदस्यको भूमिकामा रहेकी थिईन् ।
विसं २०७० देखि विसं २०७२ सम्म संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेकी शर्माले विसं २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गरेकी थिईन् । मन्त्री शर्माले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । शर्माका दुई छोरी छन् ।









पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा
प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा
एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर
राजनीतिक दलसहित सबै पक्षलाई सहमतिमै लगेर निर्वाचन सम्पन्न गर्छाैं : मन्त्री अर्याल
पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया