शुक्रबार, वैशाख ४, २०८३

राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् : राष्ट्रपति

मेरोन्यूज २०८० फागुन २५ गते ७:५१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गरे ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा महिलाको हक, अधिकार, समानता, सशक्तीकरणका साथै थप ऊर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे ।

सन्देशमा भनिएको छ, “महिला सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न प्रेरित गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माणमा क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था एवम् अधिकारकर्मीलाई थप उर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”

राष्ट्रपति पौडेलले उक्त अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरे ।

“परम्पराका नाममा समाजमा कायम रहेका खराब अभ्यासहरू जस्तै बोक्सी, छाउपडी, बालविवाह, दाइजो तथा तिलकजस्ता प्रथाले महिला, किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना निर्मूल गर्न अझै पनि थप कार्यक्रम तय गरी कार्यान्वयन गर्न जरूरी देखिन्छ”, शुभकामना सन्देशमा भनिएको छ, “महिला विरूद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा आह्वान गर्दछु ।”

विश्वभरि विभिन्न क्षेत्रमा कार्य गर्ने महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिलालाई सम्मान दिनुका साथै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउनेलगायतका उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ, “लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस गरेको छु ।”

महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । यसवर्ष अन्तर्राष्ट्रिय महिला दिवसका लागि संयुक्त राष्ट्र सङ्घबाट ‘महिलामाथि लगानी गरौँ ः प्रगतिलाई दु्रत गति प्रदान गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

प्रतिक्रिया