बिहीबार, वैशाख १०, २०८३

सीमान्तकृत समुदायका ३७६ विद्यार्थी एसइईमा सहभागी हुँदै

मेरोन्यूज २०८० चैत १४ गते १६:१७

चितवन : बिहिबारबाट सुरु हुन लागेको एसइई परीक्षामा जिल्लाका तीन सय ७६ सीमान्तकृत समुदायका विद्यार्थी सहभागी हुँदैछन् । यही चैत २७ गतेसम्म सञ्चालन हुन लागेको यस वर्षको एसइई परीक्षामा चेपाङ् समुदायका तीन सय ५१, बोटे समुदायका १३ र माझी समुदायका १२ विद्यार्थी सहभागी हुन लागेका हुन् ।

Advertisement
NiccNicc

जिल्लाबाट १० हजार नौ सय २३ विद्यार्थी सहभागी हुने परीक्षामा उनीहरुले सहभागिता जनाउन लागेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख भूमिलाल सुवेदीले जानकारी दिए। जिल्लाका ४२ केन्द्रबाट ती विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्।

जम्मा ६४ विद्यालयमा अध्ययन गरेका चेपाङ समुदायका विद्यार्थीसँगै ११ विद्यालयमा अध्ययन गरेका माझी र १२ विद्यालयमा अध्ययन गरेका बोटे समुदायका विद्यार्थी परीक्षामा सहभागी हुन लागेका उनले जानकारी दिए । उनका अनुसार यस वर्ष जिल्लाबाट सात विद्यालयमा अध्ययन गरेका संस्कृत अध्ययन गर्ने ४७ विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षामा सहभागी विद्यार्थीमध्ये नियमितितर्फ १० हजार पाँच सय ७१, प्राविधिकतर्फ दुई सय ७१, ग्रेड वृद्धितर्फ एक सय ३५ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् । यस वर्षको परीक्षामा चार दृष्टिविहीन विद्यार्थीले समेत सहभागिता जनाउन लागेको उनले जानकारी दिए ।

परीक्षा सम्पन्न गर्नका लागि भरतपुर महानगरपालिकाकमा २२, रत्ननगर नगरपालिकामा सात र खैरहनी नगरपालिकाका चार केन्द्र तय गरिएको छ । यस्तै राप्ती नगरपालिकामा तीन, माडी नगरपालिका र कालिका नगरपालिकामा दुई\दुई केन्द्र तोकिएको छ ।

यस्तै इच्छाकामना गाउँपालिकामा दुई केन्द्र तोकिएको उनले बताए। ती केन्द्रमा ४२ केन्द्राध्यक्ष र पाँच सय ४५ निरीक्षक परिचालन गर्ने तयारीमा एकाइ रहेको छ । परीक्षालाई मर्यादित बनाउनका लागि आवश्यक तयारी गरिएको उनले बताए।

प्रतिक्रिया