बिहीबार, वैशाख १७, २०८३

एसइई परीक्षा: सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित

मेरोन्यूज २०८० चैत १६ गते ९:२६

सुदूरपश्चिम । विहिबारदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा सुदूरपश्चिम प्रदेशमा एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन् ।

Advertisement
NiccNicc

नियमित तर्फ रहेका ५० हजार छ सय २६ परीक्षार्थीमध्ये आठ सय ३७,प्राविधिक धार तर्फका एक हजार ३१ परीक्षार्थीमध्ये छ जना र ग्रेडवृद्धि तर्फका एक हजार तीन सय १७ मध्ये एकसय ७८ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय दीपायलले जनाएको छ ।

प्रदेशभरिका सबै परीक्षा केन्द्रमा एसइई परीक्षा मर्यादित रुपमा सम्पन्न भएको निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले जानकारी दिए।आज पहिलो दिनको अङ्ग्रेजी ग्रेडवृद्धि तर्फको प्रश्नपत्रमा समान्य त्रुटी भेटिएको थियो । “एउटा प्रश्नमा सामान्य त्रुटी भेटिएको थियो, त्यसलाई सच्याएर परीक्षा मर्यादित रुपमा सम्पन्न गर्न लगायौँ,” विष्टले भने, “डाइरेक्ट स्पीच र इन्डाइरेक्ट स्पीच’बारे सोधिएको नौ नम्बरको प्रश्नमा भेटिएको सामान्य त्रुटीलाई सच्याउनु परेको थियो ।”

परीक्षा नियन्त्रण कार्यालयले पनि प्रश्नपत्रमा कुनै त्रुटी भेटिएमा परीक्षा सञ्चालन भएको एक घन्टाभित्रमा आफ्नो सूचना बोर्डमार्फत् सूचना गरेर सच्याउन लगाउने गरेको उनले बताए ।

धनगढीको धनगढी नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष लक्ष्मणदत्त भट्टले भने आफ्नो केन्द्रमा अङ्ग्रेजी ग्रेड तर्फ पाँचसय २९ परीक्षार्थी रहेपनि प्रश्नपत्रमा त्रुटी रहेको भन्ने बारेमा आफूलाई त्यस्तो गुनासो नआएको बताए।

उनले भने“कसैको त्यस्तो गुनासो गरेको सुनिएन, परीक्षा सञ्चालनसम्बन्धी कामको बोझले प्रश्नपत्र हेर्न पनि भ्याइएन ।”एसइई परीक्षा अन्तर्गतको एकसय पूर्णाङ्कको ग्रेड वृद्धि तर्फको परीक्षाको समय दुई घन्टा १५ मिनेट तोकिएको थियो । नियमित तर्फको परीक्षाको समय भने तीन घन्टा तोकिएको थियो ।

सबै जिल्लामा स्थापना गरिएका दुईसय ११ परीक्षा केन्द्रमार्फत् यो परीक्षा सञ्चालन भएको छ ।

प्रतिक्रिया