पहिरोका कारण रित्तिदै म्याग्दीको चौरखानी गाउँ

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताए ।
“विसं २०६३ मा चौरखानीका ५३ वटै घरमा बसोबास थियो”, उनले भने, “शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो ।” वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिराले १८ वटा घर भत्किएका छन् ।
आम्दानीको स्रोत हुनेले बजार र अन्य ठाउँमा जग्गा किनेर घर बनाई बसाइँ सरेका छन् । आधाले घर छाडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा गएर बसेका हुन् । घर भए पनि बसोबास छैन । बर्खामा गोठमा गएर बस्ने गरेका छन् । गत वर्ष सात परिवारले चौरखानीको डाँडामा घर सारेका थिए ।
यस वर्ष थप छवटा घर पुनःनिर्माण भइरहेको छ । गाउँपालिकाले पहिराबाट घर भत्किएकालाई पुनःनिर्माणका लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराएको वडाध्यक्ष छन्त्यालले बताए । “पहिराले हजारौँ रोपनी खेतीयोग्य जग्गा नष्ट भएको छ”, उनले भने, “रोकथामको प्रयास सफल नभएपछि गाउँ छाडेर अन्यत्र बसाइँ सरेर जाने क्रम बढेको हो ।” यहाँ छन्त्याल र दलित समुदायको बसोबास छ ।
हाल दलित समुदायको एउटा मात्र घर छ । भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो । गाउँको बीचमा पहिराले ठाडो चिरा बनाएको छ । खेतबारी र जङ्गल चिराचिरा परेको छ । पहिराले उठिबास लगाएपछि बसाइँसराइ गरेको चौरखानीका रेश विकले बताए ।
उनको परिवार हाल गाउँपालिकाको केन्द्र मौवाफाँटमा बसोबास गर्दछन् । दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको स्थानीय रामप्रसाद छन्त्यालले बताए । बर्सेनि ग्यावियन पर्खाल र भल व्यवस्थापन गरे पनि पहिरो रोकिएको छैन । पहिरो रोकथामको प्रयास सफल नभएकाले गाउँलाई नै अन्यत्र स्थानान्तरण गर्न जग्गाको खोजी गरिरहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया