बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द

म्याग्दी । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा चार दिन सवारी सञ्चालन बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही चैत ९ गते प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चैत १७ गतेसम्म सवारी आवतजावत रोकेर सडक विस्तार र स्तरोन्नतिको काम गर्ने निर्णय गरेको थियो । सडक स्तरोन्नति, बेस बनाउने तथा पहिराका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम तथा दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताए ।
सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी साधन चल्ने छन् । सवारी साधन परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको यातायात व्यवसायीले बताएका छन् ।
म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ । बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ ।
प्याकेज नं २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।
काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ ।
यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ । करिब छ अर्ब रुपैयाँ लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ बाट निमार्ण शुरु गरिएको हो ।
एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । करिडोरका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ । (रासस)









वेवारिसे अवस्थामा मोरङबाट ९२१ किलो ६६ ग्राम गाँजा बरामद
एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
एनपीएल : बलिङमा नेपाली खेलाडी चम्किए, ब्याटिङमा विदेशी
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
प्रतिक्रिया