आइतबार, चैत १५, २०८२

नौ महिनामा ५ अर्ब राजस्व सङ्कलन

मेरोन्यूज २०८१ वैशाख १० गते १३:२७

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा रु पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व सङ्कलन गरेको हो । कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ३३ करोड एक लाख, अन्त शुल्कतर्फ रु १५ करोड छ लाख र अन्यतर्फ रु एक अर्ब छ करोड ५१ लाख राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।

कार्यालयले चालु आवका नौ महिनामा रु आठ अर्ब ५६ करोड ६४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६६ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको उनले जानकारी दिए । “पूँजीगत खर्च कम छ, विकास निर्माणका काम बढेका छैनन्, जसले गर्दा आयात घटेको छ”, उनले भने, “बढी राजस्व सङ्कलन हुने वस्तुको आयातमा कमी छ, यसले राजस्व सङ्कलन प्रभावित भएको छ ।”

उनका अनुसार चालु आवको साउनमा रु ४६ करोड ८२ लाख, भदौमा रु ५१ करोड ९३ लाख, असोजमा रु ६३ करोड १४ लाख, कात्तिकमा रु ६१ करोड ४६ लाख र मङ्सिरमा रु ७३ करोड ३४ लाख राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा रु ६८ करोड ९० लाख, माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड एक लाख र चैतमा रु ७२ करोड १३ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

चालु आवमा भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको लक्ष्य छ । चालु आवका नौ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ४९ दशमलव ५१ प्रतिशत रहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।

गत आवमा २०७९/८० मा रु १२ अर्ब ३० करोड ६६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब २९ करोड ६३ लाख राजस्व भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशतमात्रै रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया