कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ ।
कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्तिसुरक्षामा समेत व्यवस्थापकीय काम गरेको बताए ।
“काठमाडौँ महानगरपालिकाले कतारका राजाको नेपाल भ्रमणका सन्दर्भमा हामीले गर्दै आएको काम थप प्रभावकारी बनाएका छौँ, सरसफाइ, स्वागतद्वार, साजसज्जाका साथ नगरप्रहरीहरु परिचालनमा विशेष ध्यान दिएका छौँ”, उनले भने ।
काठमाडौँका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अङ्कित ब्यानर राखिएको छ । उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।
‘कतारका मौसुफलाई हार्दिक स्वागत छ, कतारका अमिर र विशिष्ठ पाहुनालाई हार्दिक स्वागत छ’ जस्ता ब्यानरले काठमाडौँको सडक सजिएका छन् । विशिष्ठ पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रत्येक स्वागतद्वारमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।
विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ । काठमाडौँ महानगरपालिका, गैरआवासीय नेपाली सङ्घ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन् ।
सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन् ।
















प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
शुक्रबारदेखि मौसम बदली, यी स्थानमा वर्षा र हिमपात
बाँकेमा उम्मेदवारविरुद्ध परेन उजुरी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया