एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो मूर्ति निर्माण थालेको हो ।
यहाँ आज आयोजित कार्यक्रममा गुरुङ लामा बौद्ध एसोसिएसनका सदस्य खेन रिन्पोचे शिर लामाले उक्त मूर्तिको शिलान्यास गरे । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित २९ फिट अग्लो बुद्धको मूर्ति बनाउन लागिएको समाजका अध्यक्ष मनराज गुरुङले जानकारी दिए । गौतम बुद्ध सबैको साझा व्यक्ति भएकाले बुद्धको मूर्ति निर्माणपछि समग्र नगरको प्रचारप्रसार हुनाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।
अध्यक्ष गुरुङका अनुसार बुद्ध मूर्ति निर्माणका लागि एक करोड बजेट लाग्ने अनुमान गरिएको छ । “समाजले चन्दा सङ्कलन गरी मूर्ति निर्माण गर्नेछ”, उनले भने, “समाजसँग आबद्ध देश तथा विदेशमा रहनेसँग पनि चन्दा सङ्कलन गर्दैछौँ ।”
एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । यस ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ । समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको संरक्षणका साथै थप प्रवर्द्धन हुने उल्लेख गरे ।
प्रतिवेदनअनुसार पूर्वाधार निर्माणका लागि १२ करोड ५३ लाख ३४ हजार चार सय एक बजेट आवश्यक पर्ने देखिएको छ । प्रतिवेदनमा दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिका प्रतीक गौतम बुद्धको मूर्ति निर्माण गर्ने उल्लेख समितिका अध्यक्ष ठकुरीले जानकारी दिए ।
पृथ्वीराजमार्गको लेखनाथ तथा म्याग्देबाट देखिने गरेर आमाको प्रतीकका रुपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्ति निर्माण गरिनेछ । एक्लेडाँडाबाट शुक्लागण्डकी–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जिपलाइन निर्माण गर्ने योजना समेत समेटिएको छ । जिपलाइन साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने समितिका अध्यक्ष ठकुरीले बताए ।
बुद्ध जयन्तीका दिन मात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज अन्य समयमा पनि आन्तरिक पर्यटकले भरिन थालिसकेको छ । सधैँ दुलेगौँडा सहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा यहाँका स्थानीय साँझ बिहान टहलिन तथा पैदल यात्रामा पुग्ने गरेका छन् ।
केही वर्ष पहिला यस ठाउँमा घाँसदाउरा गर्न बाहेक स्थानीय नजानेमा पछिल्लो समय शनिबार र चाडपर्वमा दैनिक दुई÷तीन सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडामा उक्लने गरेका स्थानीय बताउँछन् ।
पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेका वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धूपबत्ती बाल्ने गर्दछन् । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने शान्त डाँडैभरि झिलीमिली ध्वजापताका टाँसिएको छ ।
पर्यटकको चहलपहल बढ्न थालेपछि तीन वर्ष पहिला वडा कार्यालयले दश लाखको बजेटमा दुई सय मिटर रेलिङसहितको पदमार्ग निर्माण गरेको थियो । साथै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाखको लागतमा ढुङ्गाको छपनी बिछ्याएर साढे दुई सय मिटर पदमार्ग बनाइएको छ ।
















नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
Girl dies, one injured in elephant attack
सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल
HPV vaccination campaign for girls across the country begins today
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
प्रतिक्रिया