बिहीबार, फागुन ७, २०८२

जग्गासम्बन्धी विवादमा दाइको हत्या अभियोगमा भाइ पक्राउ

मेरोन्यूज २०८१ जेठ १६ गते १६:२४

त्रिशूली (नुवाकोट) । जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा लिएको हो ।

सोमबार साँझ धारिलो हतियार (खुकुरी) प्रहारबाट हत्या भएको खमसिंहको मृत्यु जग्गासम्बन्धी विवादमा उनकै भाइबाट भएको पाइएकाले सिंहबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। उनका अनुसार जग्गासम्बन्धी लामो समयदेखि कायम विवाद, घटनास्थलको प्रारम्भिक प्रतिवेदन र घटनाका सम्बन्धमा अभियुक्तबाट स्वीकार गरेको बयानका आधारमा दाजुको हत्या अभियोगमा भाइलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको हो । उनी यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भएर कैद भुक्तानपश्चात् छुटेका व्यक्ति भएकाले पटके भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहबहादुरलाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्नलाई अनुमति लिन आज जिल्ला अदालतमा उपस्थित गराउने नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया