बुधबार, चैत ११, २०८२

गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ मा विश्वासको मत लिने

मेरोन्यूज २०८१ जेठ २५ गते २०:१९

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेठ २८ मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि मुख्यमन्त्रीको तर्फबाट प्रदेश सभा सचिवालयमा पत्र दर्ता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार २८ गते दिउँसो ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत हुने छ ।

तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले जेठ १४ गते दिएको परमादेश अनुसार पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

तीस दिनभित्र विश्वासको मत लिन सक्ने सुविधा भए पनि पछि नीति तथा कार्यक्रम र बजेटमा अल्झिनुपर्ने भएकाले त्यसअघि नै यो काम सक्ने तयारीमा मुख्यमन्त्री पाण्डे छन् ।

गण्डकी प्रदेश सभामा कांग्रेसको एकल बहुमत छैन । प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको ८ र राप्रपाको २ सिट छ । त्यस्तै, स्वतन्त्र सांसद एक जना छन् ।

पाण्डे सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश सभाको अंकगणित हेर्दा पाण्डेलाई विश्वासको मत पाउन कठिन देखिन्छ । विश्वासको मतका लागि कम्तीमा ३१ सिट चाहिन्छ । एमाले र माओवादी केन्द्रले नसघाएको अवस्थामा उनले बाँकी सबैको साथ लिए पनि ३१ सिट पुर्‍याउन सक्ने छैनन् । र ती दुई दलले साथ दिने सम्भावना पनि देखिएको छैन ।

यसैबीच, मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन आग्रह गर्दै नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन् ।

मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिन लागेकाले राप्रपाको सहयोगको अपेक्षा गर्दै देउवाले पत्र लेखेका हुन् ।

‘प्रदेशको नीत कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले जेठ २८ गते विश्वासको मत लिन लाग्नुभएको यस विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वासको मत प्रदान गरी सहयोग गर्न अनुरोधसहित कांग्रेसको तर्फबाट तपाईंलाई यो पत्र पठाएको छु’, देउवाको पत्रमा उल्लेख छ ।

राप्रपाले दिने विश्वासको मतले गण्डकी प्रदेश सरकारमा देखिएको अस्थिरता अन्त्य गर्न मात्र नभइ दलहरुबीच नयाँ विश्वास र सहकार्यको वातावरण बन्नेमा कांग्रेस विश्वस्त रहेको देउवाको भनाइ छ ।

प्रतिक्रिया