बुधबार, चैत ११, २०८२

आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छ:सांसद केसी

मेरोन्यूज २०८१ जेठ ३१ गते १७:१७

काठमाडौँ। प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत विभिन्न मन्त्रालयगत विनियोजन विधेयक, २०८१ माथि भएको छलफलमा उनले आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

द्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्नुपर्ने सांसद केसीले बताए। “गत वर्षभन्दा करिब एक प्रतिशत औद्योगिक उत्पादन कम भएको छ, निजी क्षेत्र निराश छ । उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नुपर्छ”, उनले भने, “आयात प्रतिस्थापन र निर्यात वृद्धिमा गम्भीर हुन नसकेमा राष्ट्रिय अर्थतन्त्र सङ्कटमा पर्छ ।”

सांसद केसीले पैतालीस प्रतिशत वनजङ्गलले ओगटे पनि १८ अर्ब मूल्य बराबरको फर्निचर आयात भइरहेकाले यसलाई रोक्न पहल गर्नुपर्ने बताए । मुलुकको अर्थतन्त्र विकासका लागि कृषि प्रमुख क्षेत्र रहे पनि मल नपाउँदा बर्सेनि किसानहरू समस्यामा परेकाले आवश्यकताअनुसार मल आपूर्ति गर्न उनले सुझाव दिए । डोजर आतङ्कका कारण प्राकृतिक विपत्ति निम्तिन सक्ने भएकाले सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

भूमि व्यवस्थापनबारे सरकारले गम्भीर रूपमा छलफल अगाडि बढाउनुपर्ने सांसद केसीले बताए । “अहिलेसम्म सुकुम्बासी आयोग गठन भए पनि समस्या जस्ताको तस्तै छ, कसरी समाधान गर्ने भन्नेमा सरकार गम्भीर हुनुपर्छ”, उनले भने, “धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ ।”

सहकारी ठगहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्नेमा सांसद केसीले जोड दिए । गरिबी न्यूनीकरणका लागि ठोस कार्यक्रम र नीति आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा उल्लेख नभएको भन्दै उनले रोजगार समस्या र गरिबी निवारणमा सरकार गम्भीर हुनुपर्ने बताए । स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको चार दशमलव ६४ प्रतिशतमात्र बजेट विनियोजन भएकामा यो रकम अपुग भएको सांसद केसीको भनाइ थियो ।

प्रतिक्रिया