दिक्तेलमा साकेला उँभौलीको मैझारो

सारङ्गी र्याइँ–र्याइँ रेटौँला !
अर्को साल फेरि भेटौँला !!
भेटौँला लै–लै भेटौँला !!!
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकारे खेलमैदान आज दिनभर ढोल, झ्याम्टाको तालमा यस्तै गीतले गुञ्जयमान बन्यो । ढोल–झ्याम्टका तालसँगै नाच्न कस्सिएका बालबालिकादेखि बूढापाकासम्म साकेला सिलीमा रमाइरहँदा मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।
किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले आज संयुक्त रूपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचे । माझ किरात भनेर चिनिने खोटाङमा शनिबारबाट यो वर्षका लागि साकेला उँभौली चाड औपचारिक रूपमा मैझारो ९समापन० गरिएको छ ।
किराती समुदायले वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली गरी वर्षमा दुईपटक साकेला सिली चाड मनाउँदै आएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उभौली भन्ने गरिएको हो ।
उभौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुब्बेफाब्बे होस् लगायतका कामना गर्दै प्रकृतिको पूजा गर्ने प्रचलन छ । तीनचुल्हा तथा भूमेथानहरूमा पूजाआजा गरेपछि सामूहिक रूपमा गोलो घेरामा छोरीचेली, बाउमाइती, युवायुवतीलगायत सहभागी भएर साकेला गीत गाउँदै सिली नाच्ने गरिन्छ ।
उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली मनाउने गरिएको हो ।
साकेला उभौली–उधौली चाडलाई आफन्तसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि मान्ने गरिएको छ । उभौलीका अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खालगायत किरातका महत्वपूर्ण थलो तथा विभिन्न भूमेथानमा एक महिनासम्म प्रकृतिको पूजा गरी साकेला सिली नाचिन्छ ।
साकेला सिली किरातीले मात्र नभइ सबै जातजाति तथा धर्म समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगशन किरातले बताए ।
मझुवागढीबाट औपचारिक रूपमा सुरुआत गरिएको साकेला उभौली एक महिनापछि आज दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिएको छ ।
समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायत सहभागी भएर सामूहिक रूपमा साकेला सिली नाचेका थिए ।
छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक वेशभुषामा ठाँटिएर हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरुन् भन्ने कामनासहित साकेला उभौली तथा उधौली मनाइन्छ ।
हातखुट्टाको चालले पङ्क्तिबद्ध भएर साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रिया प्रदर्शन गरिन्छ । साकेला उभौली तथा उधौलीको अवसरमा किरात समुदायको घनाबस्ती रहेका हरेक गाउँ तथा टोलहरू ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्ने गर्छन् ।
साकेला उभौली तथा उधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । यसलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् ।
यसैबीच उभौली चाड समापनका अवसरमा साकेला सिली प्रतियोगितासमेत आयोजना गरिएको थियो । विभिन्न जिल्लाका २३ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा किरात राई यायोख्खा प्रारम्भिक समिति भोजपुर देउराली पहिलो भएको छ ।
प्रतियोगितामा जनसांस्कृतिक युवा समूह रतन्छा दोस्रो, पारुहाङ सेवा समाज रतन्छा तेस्रो तथा कर्णकुमारी राई स्मृति प्रतिष्ठान सान्त्वना भएका छन् । विजयी समूहलाई क्रमशः नगद रु २० हजार, १५ हजार, १० हजार र रु पाँच हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
















पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
बैतडीको सिगासमा एक पुरुष मृत फेला
Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया