‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’

काठमाडौं । सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ । साबिकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरूबिच भागदौड मच्चिन्छ, कारण खोलामा सामान्य बाढी आउँदा पनि यहाँका स्थानीयले १ असार २०७८ सम्झिहाल्छन् ।
आजभन्दा तीन वर्षअघि हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सिधै छोप्यो । पाँचपोखरी थाङपाल गाउँपालिकाका केही भाग पनि नदीमा विलय भयो । बाढीले पाँच सय बढी घरटहरासहित नदी करिडोरमा रहेका केही व्यक्ति बगायो ।
हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले त्यति मात्रै गरेन अरबौँ लगानी गरेर बनाइएका फर्म, रिसोर्टहरुलाई पनि खोलाले निल्यो । स्थानीय तहले निर्माण गरेका र गर्दै गरेका संरचना ध्वस्त बनायो । योसँगै मेलम्ची र हेलम्बुको विकासलाई बाढीले निकै वर्ष पछाडि धकेल्यो । बाढीले क्षति गरेका तीन स्थानीय तहका नदी आसपास बस्नेहरु अहिले पनि राम्ररी निदाउन सक्दैनन् । खोला बढ्नासाथ त्रास फैलन्छ । डरले मुटु काँप्छ अनि त्यस्तै बाढी आउन सक्ने आकलनमा भागदौड मच्चिन्छ ।
तीन वर्षअघि बढेको हेलम्बुको ठुलो चौर कुनै पनि बेला फेरि खस्न सक्ने सम्भावना रहेको विज्ञहरूले बताएकाले मेलम्ची करिडोरवासी पानी पर्नासाथ त्रासमा रहने गरेका हेलम्बु–४ का खिलप्रसाद लामिछानेले बताए । “बर्खा लागेसँगै सम्भावित बाढीले पिरोल्छ, कसरी ज्यान जोगाउने भन्नेमै रात बित्छ”, उनले भने, “पानी पर्न थालेपछि पहिलाको विकराल बाढीको याद आउँछ अनि मुटु काँप्न थाल्छ, डर र त्रासका बिच रात बिताउँदैछौँ ।”
बाढीले बगाएका सडक अझै बनिसकेका छैनन् । घर बगाएकाहरु अझै टहरामै खुम्चिन बाध्य छन् । सडक सञ्जाल विस्तार हुन नसक्दा बिरामी तथा वृद्धवृद्धाहरु सकसपूर्ण दैनिकी जिउन बाध्य भएका लामिछानेले बताए । “सरकारले वास्ता गरेको छैन, हामीले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएका छौँ”, उनले भने, “जनताहरु पीडामाथि पीडामा छन्, सरकारले हामीले राखेका मागहरु केही पूरा गरेको छैन ।”
यस वर्ष पनि जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकमा औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान गरेको छ । विभागको यो पूर्वानुमानले पनि स्थानीयवासीमा थप त्रास फैलिएको छ । पहिलेका बाढीपीडित अझै पक्की घरमा बस्न पाएका छैनन् । उनीहरु अझै असुरक्षित छन् ।
मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाको चार गाउँको अस्तित्व मेटाउनाका साथै तटीय क्षेत्रलाई हेर्दाहेर्दै एकै रातमा बगर बनाएको लामिछानेले अनुभव सुनाए । “बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन नदीमा मिसाइदिएपछि किसानले उब्जनी गर्न पाएनन् । हेलम्बुको पहिचान झल्कने ट्राउट व्यवसाय बन्द भयो । बाढीले समृद्ध हेलम्बुको यात्रालाई बिचमै रोकिदियो”, उनले भने ।
आठ वर्षदेखि हेलम्बुको किउल बगरमा रिसोर्टसहितको ट्राउट फर्म सञ्चालन गरेर बसेका उत्तममणि भण्डारीसहितको नदी करिडोरमा रहेको आठवटा फार्म नदीमा विलय भएको भण्डारीले बताए । उनका अनुसार नदी करिडोरमा रहेका ट्राउट फार्ममा मात्रै रु एक खर्बभन्दा बढीको क्षति भएको छ ।
मेलम्चीको मुहानस्थल हुँदै एक्कासि उर्लिएर आएको बाढीले हेलम्बुको पुराना गाउँ चिउरेखर्क, चालिसे गाउँ, तल्लो तिम्बु बजार, गणेश बगर गाउँको सबै संरचना बगायो । झन्डै १८ हजार जनसङ्ख्या भएको हेलम्बुको तालामाराङ, चनौटे, किउल, तिम्बुजस्ता चिटिक्क देखिने बजारभर बालुवा थिग्रियो ।
मेलम्ची बजारको नदी किनारमा नगरपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि ग्रिन सिटी पार्क निर्माण गर्दै थियो । करिब रु ३८ करोड लगानीमा निर्माण थालिएको उक्त पार्क पनि बाढीले बगाएको तत्कालीन नगरप्रमुख डम्बरबहादुर अर्यालले बताए । तीन खण्डमा कार्य सम्पन्न गर्ने गरी सुरु गरिएको उक्त पार्कको निर्माण एक खण्ड सकिएको उनले जानकारी दिए । सो पार्क पर्यटन प्रवर्द्धनसँगै वातावरणीय संरक्षण अभियानका लागि निर्माण थालिएको अर्यालले बताए ।
“बाढीले मेलम्ची बजार सिङ्गै डुबायो । बजारमा निर्माण गरिएका सामुदायिक रेडियो, रेडियो मेललम्चीको चारतल्ले पक्की घर पनि बगायो । चन्दा सङ्कलनबाट निर्माण गरिएको भवनमा रेडियोका उपकरणहरुसमेत बगायो”, रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले भने । बजारमा रु ६ करोड लगानीमा स्थानीय सागर श्रेष्ठले जिल्लामै पहिलोपटक लिफ्टसहितको होटल सञ्चालनमा ल्याएका थिए । छतल्ले सो भवन पनि बाढीले डुबाएपछि उनी अहिले ऋणको मारमा छन् ।
मेलम्ची बाढी आएको तीन वर्ष पूरा भए पनि पीडितहरु अझै टहरामै आश्रित छन् । पीडित सन्तोषी श्रेष्ठले यो वर्ष पनि आनन्दसँग रात काट्न नपाउने भन्दै दुखेसो गरिन् । बाढीपछिका बर्खामा टहराको बसाइ निकै सकसपूर्ण भएको उनको भनाइ छ ।
बाढीका कारण हेलम्बु गाउँपालिकामा तीन सय ९२ परिवार लाभग्राही पहिचान गरिएको थियो । सोमध्ये हालसम्म एक सय परिवारले मात्रै राहतको पहिलो किस्ता पाएका छन्, जसमा ९५ परिवारले जग्गा खरिद गरेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
मेलम्ची नगरपालिकामा दुई सय ४४ परिवार लाभग्राहीको सूचीमा थिए । सोमध्ये दुई सय ३२ परिवारले पहिलो किस्ता पाएका छन्भने अन्तिम किस्ता पाउने परिवारको सङ्ख्या आठ रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
बाढी प्रभावित पाँचपोखरीमा एक सय ८४ परिवार लाभग्राही रहेकामध्ये ९२ परिवारले जग्गा प्राप्त गरेका छन् । सरकारले जग्गा नभएका बाढीपीडितलाई जग्गाका लागि बढीमा रु तीन लाख, घर निर्माण गर्न रु पाँच लाख र अस्थायी आवास निर्माणका लागि रु ५० हजार दिने घोषणा गरेको थियो ।
वर्षासँगै उर्लिएर डरलाग्दो गरी बग्ने मेलम्ची खोलाको बाढीले क्षतिग्रस्त घर र खेतबारी कटान गरेपछि थप बिचल्ली भएको स्थानीय बताउँछन् । पीडितका लागि स्थायी आवास निर्माण गर्न स्थानीय सरकारले मात्रै सम्भव नहुने हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले बताए । सबै तहका सरकार र सरोकार भएका निकायले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
पश्चिमी वायुको आंशिक प्रभाव: कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया