भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास

भैरहवा । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा आज लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ ।
योगाभ्यास कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरे । सो कार्यक्रममा उनले बुद्धले शान्ति, करुणा र समझदारीको मार्गमा अग्रसर गराउनुका साथै मानव जीवनमा योग र ध्यानको महत्वबारे प्रकाश पारेका थिए । उनले पूर्वीय सभ्यतासँग जोडिएको योग आज विश्वभर एक सशक्त स्वास्थ्य र कल्याणको मार्गका रूपमा प्रख्यात हुँदै गएको औँल्याए ।
“यो केवल शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण प्रणाली हो”, मुख्यमन्त्री महराले भने, “योगले हामीलाई आत्मज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्याउँछ ।”
‘स्वास्थ्यका लागि योग’ विश्वव्यापी चुनौती सामना गरिरहँदा अझ सान्दर्भिक रहेको महराको भनाइ छ । “योगले हाम्रो शारीरिक स्वास्थ्य बलियो बनाउने, प्रतिरोधात्मक क्षमता बढाउने र मानसिक दृढता बढाउने महत्त्वपूर्ण साधनको रूपमा काम गरिरहेको छ, यसले हामीलाई तनाव, चिन्ता र अन्योलका बेला सामन्जस्य गर्न मद्दत पुर्याएको छ”, उनले भने ।
महाराले लुम्बिनी प्रदेश सरकार नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको जनाए । योगका फाइदालाई स्वीकार्दै, सार्वजनिक स्वास्थ्यसम्बन्धी पहलमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गरिरहेको उनले बताए ।
सोही कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रत्येक वर्ष लुम्बिनीमा योग दिवस मनाउँदै आएको बताए । उनले यस पटकसमेत गरि लुम्बिनीमा यो तेश्रो पटक दिवस मनाइएको र यसलाई दूतावासले प्रत्येक वर्ष मनाउने जानकारी दिए । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेयता यसलाई मनाइँदै आएको उनले बताए ।
“यसपटक यो दिवस यस अर्थमा पनि विशेष यसकारण छ किनकि हामीले यसका दशौँ वर्ष पूरा गरेका छौँ”, राजदूत श्रीवास्तवले भने, “यो योग दिवस मनाउने कारणले योगलाई एक अन्तर्राष्ट्रियस्तरको मञ्च पाइएको छ ।” नेपाल र भारतमा योग प्राचीनकालदेखि नै गरिँदै आएको जनाउँदै उहाँले दुवै देशको साझा संस्कृतिको अङ्ग रहेको जिकिर गरे ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी एक महत्त्वपूर्ण तीर्थस्थल रहेको र भारतमा रहेका विभिन्न बौद्धसँग सम्बन्धित स्थलसँग जोडेर यसलाई तीर्थस्थल सर्किटका रूपमा विकसित गर्न आवश्यक रहेको औँल्याए । यसैको प्रयासस्वरुप लुम्बिनी विकास कोषसँगको सहकार्यमा विभिन्न पर्यटकीय गतिविधिमा दूतावासले साझेदारी गरेको उनको भनाइ थियो । भारतको प्रयासस्वरुप नै अहिले लुम्बिनीमा भारतीय पर्यटकको आगमन गत वर्षहरूभन्दा बढ्दै गएको उनको भनाइ थियो ।
लुम्बिनीको लिटल बुद्धको प्रतिमा अगाडि आयोजित योगाभ्यास कार्यक्रममा मुख्यमन्त्री महरा, राजदूत श्रीवास्तवसहित पूर्वमन्त्रीहरू हृदयेशकुमार त्रिपाठी, देवेन्द्रराज कँडेललगायत पाँच सय बढी योग साधकको सहभागिता रहेको थियो ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया