शनिबार, पुष १२, २०८२

प्रहरीद्वारा एक करोडको सामान बरामद 

मेरोन्यूज २०८१ असार ८ गते ११:०७

जानकी(बाँके) । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा रु. एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ ।

बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो । प्रहरीले रु. दुई लाख ५८ हजार बराबरको भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएको करिब दुई क्विन्टल बोइलर खुकुरा र एक हजार आठ सय चल्ला बरामद गरेको छ ।

जेठमा प्रहरीले एक हजार सात सय १३ सवारी चालकलाई कारबाही गरेको छ । उनीहरुबाट रु १४ लाख ६१ हजार राजस्व सङ्कलन गरिएको प्रवक्ता डाँगीले बताए । 

यसैगरी प्रहरीले एक सय २१ मोटरसाइकल र स्कुटर लिलामी गरेको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ भने चोरी भएका नौ मोटरसाइकल फेला पारेको छ । यस्तै स्कुटर चोरीमा संलग्न दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता डाँगीले बताए । 

प्रतिक्रिया