पहिराले बुद्धसिंह मार्ग २ दिनदेखि अवरुद्ध

दमौली (तनहुँ) । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिराका कारण दुई दिनदेखि अवरुद्ध भएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्कने मिल्ने बुद्धसिंह मार्ग दुई दिनदेखि पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।
बुद्धसिंह मार्गअन्तर्गत व्यास, बन्दीपुरका विभिन्न खण्डमा ठूलाठूला ढुङ्गा खसेर अवरुद्ध भएको स्थानीयवासी सिद्धान्त थापा मगरले बताए ।
उनले भने, “शुक्रबारदेखि परेको वर्षाका कारण झरेको पहिराले यो मार्ग पूर्णरुपमा अवरुद्ध छ । मोटरसाइकलसमेत चलाउन मिल्ने अवस्था छैन । सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।” केही ठाउँमा ठूला ढुङ्गा खसेका छन् भने कतिपय ठाउँमा विद्युत्को पोल ढलेर बाटो अवरुद्ध भएको उनको भनाइ छ ।
जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई उक्त मार्ग खुलाउन अनुरोध गरिएको मगरले बताए । उनले भने, “यो बाटो बन्द हुँदा हिँडडुल गर्न समस्या भयो, कोही बिरामी हुँदा एम्बुलेन्ससमेत जान सक्ने अवस्था छैन ।” सम्बन्धित निकायबाट पहिरा हटाएर बाटो खुलाउने आश्वासन पाएको उनको भनाइ छ ।
गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँं नागरिक दैनिक आवतजावत गर्ने गर्छन् ।
गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास नगरपालिका–१३ को सोढेसम्म दश किलोमिटर कालोपत्रको तयारी गरेको छ ।
उक्त मार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको सम्पन्न पश्चात् बाटो छोटिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्दछ ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा चल्दैछ डोजर
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया