सोमबार, चैत ९, २०८२

सुपारीखेती भरपर्दो आम्दानीको स्रोत

मेरोन्यूज २०८१ साउन १९ गते ८:५८

झापा। झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ। कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन्। “व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन। वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ”, उनले भने।

सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउँछन्। “मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारी भित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै खेती गर्ने गरेको छु। सुपारीबाट मात्रै वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ”, उनले भने।

अरु खेती लगाउँदा हात्तीले नोक्सान गर्ने भएकाले नगदेबाली सुपारी खेतीमा लागेको अर्का किसान निर्मल भट्टराई बताउँछन्। उनका अनुसार सुपारीका दानासँगै यसको पत्ताबाट दुनाटपरी बनाउन सकिन्छ। सुपारीको बोटमा फल लागेदेखि नै व्यापारीले अग्रिम भुक्तानी गर्ने गरेको अर्का किसान बिन्दु पौडेल बताउँछन्।

“बिरुवा लगाएको सात वर्षदेखि यसले फल उत्पादन सुरु गर्छ। त्यसपछि निरन्तर यसबाट वार्षिक रुपमा आम्दानी भइरहन्छ”, उनले भने।

राज्यले उन्नत जातका सुपारीका बिरुवामा लगानी गर्दै किसानको उत्पादनलाई बजारीकरणमा समन्वय गरिदिने हो भने सुपारीखेती गर्ने किसानको आम्दानी बढ्दै जाने स्थानीय प्रेम राई बताउँछन्।

“पहिले घरआँगन सजाउनका लागि सुपारीका बिरुवा रोप्ने गरिन्थ्यो। पछिल्लो समय सुपारीखेती व्यावसायिक रुपमा गर्दै वार्षिक लाखौँ रुपैयाँ आम्दानी भइरहेको छ”, उनले भने।

प्रतिक्रिया