शनिबार, चैत १४, २०८२

चार हजार छ सय ४५ मिटर उचाइमा गल्फ प्रतियोगिता

मेरोन्यूज २०८१ साउन २१ गते २०:४६

म्याग्दी। समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

लोवथाङमा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दाबी गरिएको छ। यसअघि लोमान्थाङ गाउँपालिकाले त्यहाँ दुई पटक गल्फ प्रतियोगिता आयोजना गरिएको थियो।

आगामी भदौ १ गते हुन लागेको तेस्रो संस्करणको प्रतियोगितामा ६० जना खेलाडीले सहभागिता जनाउने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिए।

खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए। ‘उच्च उचाइको कारणले, प्रतियोगिता नौ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाउँछौँ’, उनले भने, ‘विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन र लङेस्ट ड्राइभका लागि पनि पुरस्कार प्रदान गरिनेछ।’

प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यका साथ १५ जना भारतीय खेलाडीलाई पनि निमन्त्रण गरिएको छ। होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीलाई याक पुरस्कार प्रदान गरिने विष्टले बताए।

गल्फ प्रतियोगितामा याक पुरस्कार दिने अनौठो र चाख लाग्दो अभ्यास गर्न लागेको विष्टले बताए। प्रतियोगिता सञ्चालन गर्न रु सात लाख खर्च हुने अनुमान गरिएको छ। दुई वर्षअघि निर्माण भएको सो खेलमैदानलाई विश्वकै उच्च स्थानको गल्फ कोर्सको रुपमा गिनिज बुकमा अभिलेख दर्ता गराउने उद्देश्यसहित यसअघि सन् २०२२ र २०२३ को अगस्टमा पनि प्रतियोगिता सञ्चालन गरिएको थियो।

यसअघि भारतको सिक्किममा तीन हजार नौ सय ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मान्ने गरिएको थियो। लोवाथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा पर्छ। त्यहासम्म पुग्न सडक समेत विस्तार भईसकेको छ। करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसे मैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ।

गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाइन र ब्याक लाइनको टिबक्सलगायत संरचना बनाइएको छ। गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारीसाधनमा लोमान्थाङबाट ३० मिनेटमा पुग्न सकिन्छ।

प्रतिक्रिया